भारतको पञ्जाब राज्यअन्तर्गत लुधियानास्थित बिआरएस नगरमा कार्यरत एक नेपाली श्रमिकको छतबाट खस्दा मृत्यु भएको छ। आफ्नै डेरा बसेको घरको पाँचौँ तलाको छतबाट खस्दा गम्भीर घाइते भएका २८ वर्षीय दिनेश रानाको उपचारका क्रममा निधन भएको हो।
प्राप्त जानकारीअनुसार गएराति करिब ०२ बजेको समयमा दिनेश राना छतबाट खसेको थाहा पाएपछि उनलाई तत्कालै लुधियानास्थित सिभिल अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषणा गरेका थिए।
मृतक दिनेश रानाको स्थायी ठेगाना नेपालका कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७, बरैयामा रहेको छ। उनी रोजगारीका सिलसिलामा केही समयदेखि लुधियानाको बिआरएस नगरमा बसोबास गर्दै आएका थिए। दिनेश रानाका बुवा हरनाम राना र आमा अनोखा राना रहेका छन्।
घटनापछि मृतकको परिवारलाई जानकारी गराइसकिएको प्रवासी नेपाली सम्पर्क मञ्च भारतका केन्द्रीय प्रमुख ई. अर्जुन भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गराउनका लागि भारतस्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ।
प्रवासी नेपाली सम्पर्क मञ्च भारतले उक्त घटनाबारे स्थानीय प्रशासनसँग समन्वय गर्दै आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाएको जनाएको छ। साथै मृतकको शव व्यवस्थापन, आवश्यक कागजी प्रक्रिया तथा परिवारलाई सहयोग पुर्याउने विषयमा पहल भइरहेको पनि मञ्चले जानकारी दिएको छ।
विदेशमा रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेका यस्ता दुःखद घटनाले फेरि एकपटक उनीहरूको सुरक्षा, आवास व्यवस्था तथा काम गर्ने वातावरणप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।







