नरेश राना / कञ्चनपुर
कञ्चनपुर को लालझाडी गाउँपालिका मा श्री अनमोल कृषि सहकारी संस्था तथा सामुदायिक बीउ बैंक लि.को आयोजनामा “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वरिष्ठ सल्लाहकार संयोजक श्री कृष्ण राना ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने लालझाडी गाउँपालिका उपाध्यक्ष श्री सपना चौधरी राना ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै लालझाडी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष श्री टिकाराम डंगौरा ,कृषि ज्ञान केन्द्र का प्रमुख हरी प्रसाद पनेरु विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो।अतिथि कृषि शाखा लालझाडी का प्रमुख दसरथ साउद,सक्षम परियोजना का कृषि प्रबधिक धर्म सिंह राना,कल्टीभेटिङ चेन्ज का वरिष्ठ कृषि प्रबधीक कविता शाही को उल्लेखेनिय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कृषि जैविक विविधता संरक्षणको महत्व, स्थानीय तथा रैथाने बीउको संरक्षण, बीउ बैंकको भूमिका, जलवायु परिवर्तनको चुनौती र यसमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता बारे प्रकाश पार्नुभयो। प्रमुख अतिथि उपाध्यक्ष राना ज्यूले कृषि जैविक विविधता संरक्षणले दीगो कृषि, खाद्य सुरक्षा र किसानको आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सहकारी तथा सामुदायिक बीउ बैंकको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

सभाध्यक्ष श्री कृष्ण राना ज्यूले कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, उपयोग र प्रवर्द्धनका लागि सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै उहाँले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कृषक समूह, बीउ उत्पादक कृषक, सहकारीका शेयर सदस्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, मिडियाकर्मी, सुरक्षाकर्मी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले स्थानीय कृषि प्रणाली मजबुत बनाउने र जैविक विविधताको संरक्षणमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रम लाई अनमोल।कृषि सहकारी संस्था लिमिटेड की उपाध्यक्ष रञ्जीता राना ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।कार्यक्रम लाई संस्था का अध्यक्ष आशा राम चौधरी ले सञ्चालन गर्नु भएको थियो।








