नरेश राना/कञ्चनपुर, 

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–३ डुङ्गास्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नवौं माघ विशेष बृहत सांस्कृतिक कार्यक्रम २०८२ भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा हजारौं दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो।

“खिचडी–ढिक्री, माघौंटा नाचमें झुम्बी, नयाँ नेतृत्व चुनटी, धुमधाम से माघ मनैबी” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रम लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो। कार्यक्रमका मुख्य प्रायोजक लालझाडी गाउँपालिका वडा नं. ३ तथा प्रायोजक शुभम् कन्स्ट्रक्सन रहेका थिए।

कार्यक्रमको सभाध्यक्ष माघ विशेष बृहत सांस्कृतिक कार्यक्रम समितिका अध्यक्ष महेश चौधरी रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा भूमि तथा कृषि मन्त्री वीर बहादुर थापा (पातल) सहभागी हुनु भएको थियो भने विशिष्ट अतिथिहरूमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना र पूर्व अध्यक्ष मदन सेन बडायक रहनु भएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा समाजसेवी तथा बुद्धिजीवी वीर बहादुर चौधरी ले स्वागत मन्तव्य राख्दै माघी पर्व थारु समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो।

सांस्कृतिक प्रस्तुतितर्फ राष्ट्रिय कलाकार सुमित्रा चौधरी र गायक विजय चौधरी ले दर्शकलाई मन्त्रमुग्ध बनाउने शानदार प्रस्तुति दिनुभयो। साथै स्थानीय कलाकारहरूले माघौंटा नाच, थारु लोकनृत्य तथा मौलिक गीत–संगीत प्रस्तुत गर्दै कार्यक्रमलाई अझ रंगीन बनाएका थिए। स्थानीय कलाकारहरूको प्रस्तुतिले गाउँघरको मौलिक संस्कृति र जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

कार्यक्रममा लालझाडी गाउँपालिकाका भलमन्सा, पधना, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। दर्शकको उल्लेखनीय भिडले कार्यक्रमको लोकप्रियता र सांस्कृतिक महत्वलाई स्पष्ट रूपमा देखाएको थियो।

समग्र कार्यक्रमलाई रामचन्द्र चौधरी ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।

कार्यक्रम आयोजक समितिले आगामी वर्षहरूमा अझ व्यवस्थित र बृहत रूपमा माघ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस प्रकार, लालझाडीमा सम्पन्न नवौं माघ विशेष बृहत सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकतालाई मजबुत बनाउँदै सफलतापूर्वक आफ्नो उद्देश्य हासिल गरेको छ।