नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–३ डुङ्गामा आगामी माघ २ गते थारू समुदायको महान पर्व माघी लाई केन्द्रमा राखेर माघ विशेष भव्य साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। लालझाडी गाउँपालिकाको आर्थिक सहयोग तथा श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गण मा आयोजना हुन लागेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न हुने तयारी गरिएको आयोजक समितिले जनाएको छ।
थारू समुदायको पहिचान, मौलिक संस्कृति तथा सामाजिक एकतालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रममा सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। माघी पर्व थारू समुदायका लागि नयाँ वर्षको सुरुवातको प्रतीक मानिने भएकाले यस पर्वलाई विशेष महत्वका साथ मनाउन लागिएको हो।
“खिचडी–ढिक्री, माघौंटा नाचमें झुम्बी, नयाँ नेतृत्व चुनटी, धुमधाम से माघ मनैबी” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा लालझाडी गाउँपालिकाका सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन्। यसले स्थानीय कला, परम्परा र सांस्कृतिक विविधतालाई उजागर गर्ने विश्वास लिइएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कलाकार तथा मोडेल सुमित्रा चौधरी र लोकप्रिय गायक विजय चौधरी को विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूद्वारा थारू संस्कृति झल्किने नाचगान, गीत तथा सांस्कृतिक झाँकीहरूको मनमोहक प्रस्तुति रहनेछ। यसले कार्यक्रमलाई अझ आकर्षक र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी संस्कृति हस्तान्तरणको प्रभावकारी माध्यम बनाउने लक्ष्य लिइएको छ। विशेषगरी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र पहिचानप्रति जागरुक बनाउने उद्देश्य सहित कार्यक्रमको संरचना तयार गरिएको जनाइएको छ।
माघी पर्वले आपसी मेलमिलाप, सुख–दुःखको साटासाट, सामाजिक एकता र सामूहिक जीवनशैलीको सन्देश दिने भएकाले यस्ता सांस्कृतिक कार्यक्रमहरूले स्थानीय पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
माघ विशेष साँस्कृतिक कार्यक्रम महेश चौधरीको संयोजकत्वमा तथा रामचन्द्र चौधरीको उद्घोषणमा सम्पन्न हुने भएको छ। आयोजकले सम्पूर्ण स्थानीयवासी, सांस्कृतिक प्रेमी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई माघी पर्वलाई भव्य रूपमा सफल बनाउन आग्रह गरेका छन्।







