नरेश राना /कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री जाई ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय स्तरमा विद्युत सेवा विस्तार तथा सहकारी माध्यमबाट आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँदै आएको संस्थाको साधारण सभा संस्थाका अध्यक्ष देव लाल रानाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बहादुर राना रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा लालझाडी गाउँपालिका वडा नं. ४ का वडा सदस्य गर्भु राना, नेपाल विद्युत केन्द्रीय सहकारी संघका अध्यक्ष गोविन्द भट्ट तथा लालझाडी सहकारी शाखा प्रमुख प्रभु राज जोशी रहनु भएको थियो।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बहादुर रानाले जाई ग्रामीण विद्युत सहकारी संस्थाले ग्रामीण क्षेत्रमा विद्युत सेवा सहज, भरपर्दो र प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले सहकारीको पारदर्शिता, सदस्य सहभागिता र दिगोपनामा जोड दिँदै आगामी दिनमा अझ व्यवस्थित रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चेतराम रानाले स्वागत मन्तव्य राख्दै सहकारीले स्थापना कालदेखि हालसम्म भोग्दै आएका चुनौती र उपलब्धिहरूको संक्षिप्त चर्चा गर्नुभयो। उहाँले सदस्यहरूको निरन्तर सहयोग र विश्वासकै कारण संस्था निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको बताउनुभयो।
साधारण सभामा संस्थाका सचिव मोती राम रानाले आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षमा संस्थाले कुल १५ लाख ९३ हजार ५ सय ८३ रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिनुभयो। प्रतिवेदनमा विद्युत सेवा विस्तार, मर्मत–सम्भार तथा प्रशासनिक खर्चको विवरणसमेत प्रस्तुत गरिएको थियो।
साधारण सभाको सञ्चालन बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका शिक्षक दीपेन्द्र रानाले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका शेयर सदस्यहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभाले आगामी कार्ययोजना, बजेट तथा नीतिगत निर्णयहरू पारित गर्दै संस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






