लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले बेलडाँडी नगरपालिका–२ चौवन्नी खल्ला गाउँ निवासी १८ वर्षीय निशान्त रानालाई आज अपरान्ह करिब ४ बजे सोही स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रानाको साथबाट २१.१३ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका रानालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।