नरेश राना / कञ्चनपुर

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा सातौँ लालझाडी गाउँपालिका स्तरीय छनौट खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय तहका विद्यार्थीहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता लालझाडी खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रानाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष आशा राम राना, वडा नं. १ का वडा अध्यक्ष प्यारे लाल राना लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा लालझाडी गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयहरू सहभागी भएका थिए। खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा एथलेटिक्स, विभिन्न खेल विधाहरू समावेश गरिएको थियो।

प्रतियोगिताको नतिजाअनुसार

तृतीय सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सिया डुङ्गाले १० स्वर्ण, ७ रजत र १० कास्य पदक सहित २७ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो।

त्यसैगरी शारदा राष्ट्रिय माध्यमिक विद्यालय, नौराँगले ११ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित कुल १८ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भानु माध्यमिक विद्यालय, कञ्जले २० स्वर्ण, १३ रजत र १६ कास्य पदक सहित ४९ अंक प्राप्त गरी लालझाडी गाउँपालिका स्तरीय प्रथम स्थान हासिल गर्न सफल भयो।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष निर्मल रानाले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भविष्यमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी अन्य वक्ताहरूले खेलकुद क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अभ्यास र अनुशासनमा जोड दिन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिलाई सहभागी सबैले धन्यवाद व्यक्त गरेका छन्।