कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नगरपालिकाभित्र कार्यरत मेलमिलापकर्ताहरूका लागि सामुदायिक मेलमिलाप सम्बन्धी तीन दिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका को न्याय समिति को आयोजना मा सो कार्यक्रम सम्पन्न भएको थियो।

कृष्णपुर नगरपालिकाको आयोजनामा समापन भएको उक्त कार्यक्रमको सभाध्यक्षता नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक श्री द्रोपती राना ज्युले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिका रूपमा कञ्चनपुर जिल्ला समन्वय समितिका उप–प्रमुख श्री राम कुमारी राना ज्युको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष द्रोपती राना ज्युले स्थानीय तहमा उत्पन्न हुने विवाद समाधानमा मेलमिलाप प्रक्रियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले न्यायिक समितिमार्फत छिटो, सरल र न्यायोचित समाधान प्रदान गर्न मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै यस्ता पुनर्ताजगी तालिमले मेलमिलापकर्ताहरूलाई थप जिम्मेवार, निष्पक्ष र दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि श्री राम कुमारी राना ज्युले समुदायमै विवाद समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी र दीर्घकालीन माध्यम भएको बताउनुभयो। उहाँले स्थानीय सरकार र समुदायबीच विश्वास कायम गर्न मेलमिलापकर्ताहरूको भूमिका अहम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीप व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा न्यायिक समिति सदस्य रत्न बोहरा  कृष्णपुर नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका न्यायिक समिति संयोजकहरू तथा नगरपालिकाभित्र कार्यरत सम्पूर्ण मेलमिलापकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तीन दिनसम्म सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रममा अधिवक्ता तेज राज उपाध्यक्ष ले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणमा सामुदाय मेलमिलापको अवधारणा, कानुनी प्रक्रिया, व्यवहारिक अभ्यास, विवाद समाधानका विधि तथा मेलमिलापकर्ताको भूमिका र आचरणलगायत विविध विषयहरूमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

स्थानीय स्तरमै शान्तिपूर्ण रूपमा विवाद समाधान गर्दै सामाजिक सद्भाव र न्याय प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले मेलमिलापकर्ताहरूको दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।