नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ४ तथा शुक्लाफाटा नगरपालिका वडा नं. १२ मा कार्यक्षेत्र रहेको सिद्धनाथ ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष विष्णु कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा नब दुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह सेट्टी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रमको सुरुआत संस्थाका सचिव शंकर रानाले स्वागत मन्तव्य प्रस्तुत गर्दै सहकारीले ग्रामीण क्षेत्रमा विद्युत सेवा विस्तारमा खेलेको भूमिका र आगामी योजनाका बारेमा प्रकाश पार्नुभएको थियो।
सभामा संस्थाका व्यवस्थापक सोम वीर चौधरीले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै सहकारीले कुल रु. ३३ लाख ५० हजार ६ सय ७१ रुपैयाँ बराबरको कारोबार गरेको जानकारी गराउनुभयो। उहाँले सहकारीको आर्थिक अवस्था सुदृढ हुँदै गएको र सेवाग्राहीलाई थप गुणस्तरीय सेवा दिन संस्था प्रतिबद्ध रहेको बताउनुभयो।

अधिवेशनको अवसरमा स्थानीय संस्कृति झल्काउने रानाथारु समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको सञ्चालन पनि संस्थाका व्यवस्थापक सोम वीर चौधरीले गर्नुभएको थियो। सभामा संस्थाका शेयर सदस्यहरू, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाले संस्थाको प्रगति, चुनौती र भावी कार्ययोजनाबारे व्यापक छलफल गर्दै सहकारीलाई अझ प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।







