कञ्चनपुर । कृष्णपुर नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रमसहित सम्पन्न गरिएको छ। कार्यक्रममा सभापतिका रूपमा नगर उप–प्रमुख द्रोपती राना उपस्थित रहनु भयो भने प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझा हुनुहुन्थ्यो।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरकी उप–प्रमुख रामकुमारी राना रहनुभएको थियो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, डा. दिलिप देउवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगरपालिकाअन्तर्गतका वडा नं. १ देखि ९ सम्मका अपाङ्गता भएका व्यक्तिहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशी समाज निर्माण तथा उनीहरूलाई राज्यका सेवासुविधामा पहुँच सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमका दौरान नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक समर्थन सामग्री (सहायक उपकरण) वितरण गरेको थियो। सामग्री प्राप्त गरेका व्यक्तिहरू र अभिभावकहरूले नगरपालिकाले वर्षेनी गर्दै आएको सहयोगप्रति खुशी व्यक्त गरेका थिए।

उप–प्रमुख द्रोपती रानाले अपाङ्गता भएका व्यक्तिहरूलाई सक्षम र आत्मनिर्भर बनाउनेतर्फ नगरपालिका निरन्तर सक्रिय रहने बताउँदै सबै पक्षलाई सहकार्यका लागि आग्रह गर्नुभयो। प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले नगरपालिका स्तरमै समावेशी र पहुँचमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम उत्साहजनक तथा समावेशी वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।