कञ्चनपुर — कामको खोजीमा १६ वर्षको उमेरमा भारत पुगेका शिवचरण रानाले जीवनका कठिन अनुभवहरू संगाल्दै आज गाउँमै सफल व्यवसायीको रूपमा पहिचान बनाउन सफल भएका छन्। शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका राना अहिले दैनिक १५ सय लिटरभन्दा बढी दूध संकलन र बिक्री गर्दै आफ्नो गाउँमा उदाहरणीय डेरी सञ्चालन गरिरहेका छन्।

कहिलेकाहीँ चौकीदार, कहिलेकाहीँ मजदुर—भारतका बैंगलोर, हरियाणा, दिल्लीदेखि उत्तराखण्ड र हिमाञ्चलका विभिन्न स्थानमा उनले वर्षौं काम गरे। तर एक कुरा सधैं मनमा खेल्थ्यो—“सानो भए पनि आफ्नै गाउँमा केही गर्नै छ।” यही सोचले उनलाई ६ वर्षपछि घर फर्कायो। घर आएपछि साथीभाइसँग सल्लाह गर्दै भविष्यको योजना बनाउन थाले।

यही बीच एकदिन साथीहरूसँग झलारी बजार पुगेका रानाले डेरीमा दूध संकलनको कुरा उठाए। डेरी सञ्चालकले पनि दूध ल्याउन सहमति जनाएपछि उनले सहकारीबाट ऋण लिएर एक साइकल किने र गाउँ–गाउँ घुम्दै दूध संकलन सुरु गरे।
पहिलो दिन जम्मा २ लिटर दूध संकलन गरेर डेरीमा पुर्‍याएका रानाको त्यही मेहनत आज १५ वर्षपछि १५ सय लिटर दैनिक संग्रहसम्म पुगेको छ।

सुरुका पाँच वर्ष साइकलमै दौडधुप गर्दै दूध संकलन गरेका उनले पछि पुनः सहकारीकै ऋणमा मोटरसाइकल किने। त्यतिबेला २–३ सय लिटर दूध संकलन हुन्थ्यो र दैनिक ५–७ सय रुपैयाँ जोगाउथे। मोटरसाइकल किँदै संख्या बढ्दै जाँदा बचत पनि १–१२ सय रुपैयाँ दैनिकसम्म पुग्यो।

आज रानाले गाउँमा अत्याधुनिक स्वतन्त्र डेरी स्थापना गरेका छन्। दैनिक संकलन गरिएको १५ सय लिटर दूधमध्ये २–३ सय लिटर डेरीमै खपत हुन्छ भने बाँकी झलारी र धनगढी बजारमा पु¥याइन्छ। गाउँमा उनले प्रतिलिटर ५५ देखि ६८ रुपैयाँसम्ममा दूध खरिद गर्छन्। धनगढीमा बिक्री गर्दा प्रति लिटर १५ रुपैयाँसम्म नाफा हुने रानाको भनाइ छ।

खर्च कटाएर महिनामा १ देखि डेढ लाखसम्म नाफा गर्छु,” रानाले बताए, “सुरुमा निकै गाह्रो थियो, अहिले सबै सहज भएको छ।”

उनका एक छोरा छन्, जो अहिले बुवाको व्यवसायमा सघाइरहेका छन्। घरमै भैंसी पनि पालेका छन् जसले डेरी सञ्चालनमा थप सहयोग पुर्‍याउँछ।

व्यवसाय विस्तारसँगै रानाले ६ जना कामदार राखेका छन्। दुध संकलनदेखि डेरीमा प्रशोधन गर्ने, धनगढीसम्म बिक्री पु¥याउने कामसम्म सबै जिम्मेवारी उनीहरूले सम्हालेका छन्। डेरीमा दूधका अन्य परिकार—दही, मोही, पनिर, घ्यू, मिठाई आदिको पनि उत्पादन तथा बिक्री भइरहेको छ।

गर्मी र विवाहको सिजनमा गाउँमै दूधको माग अत्यधिक हुने रानाको अनुभव छ। “उत्पादन कम हुने बेला माग बढ्दा कतिपय दिन त माग धान्नै सकिदैन,” उनले भने।

शिवचरण रानाको कहानी गाउँमा बसेर पनि कसरी परिश्रम, धैर्य र सही निर्णयले जीवन बद्लिन सक्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।