सुदूरपश्चिम प्रदेशकाे तराई क्षेत्रमा बसोबास गर्ने रानाथारू समुदायमा होरी पर्वको उल्लास सुरु भएको छ। माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म एक महिना आठ दिनसम्म चल्ने यो पर्वको पहिलो चरणमा जिन्दा होरी मनाइँदैछ।
जिन्दा होरीमा समुदायका बुढापाका, युवकयुवती राति ढोल-तालमा सामूहिक रूपमा नाचगान गरेर रमाउने चलन छ। अहिले विभिन्न गाउँहरूमा हरेक रात जिन्दा होरी नाच प्रस्तुत गर्ने क्रम जारी रहेको छ।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व मानिने होरी दुई चरणमा मनाइन्छ— जिन्दा होरी र मरी होरी। नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाका अनुसार होलिका दहनपछि मरी होरी सुरु हुन्छ, जसलाई आठ दिनसम्म मनाइन्छ। यो अवधिमा मौलिक पहिरनमा सजिएर दिउँसो होरी नाच नाचेर पर्व मनाउने गरिन्छ।
मरी होरीको अन्तिम दिनलाई ‘खख्डेहरा’ भनिन्छ। बिहानै खख्डेहरा फुटाएपछि विधिवत रूपमा होरी पर्व समापन हुन्छ। यस दिन आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर विशेष परिकार (हट्कना) खुवाउने परम्परा छ। खख्डेहरा दिन प्रदेश सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।
तर, होरी पर्व खख्डेहरा फुटाएर मात्र सकिँदैन। चैत महिनामा चराइँ पर्व सम्पन्न भएपछि बल्ल होरी समापन मानिन्छ। सत्यले असत्यमाथि विजय प्राप्त गरेको खुसियालीमा नाचगान र उत्सव मनाउँदै यो पर्व मनाइने परम्परा रहँदै आएको छ।







