नेपाल रानाथारु युवा समाजद्वारा होरि मिलन तथा खखडेहरा कार्यक्रमको आयोजना

२५ फाल्गुन २०८१, आईतवार

काठमाडौं, रानाथारु समुदायको कला, संस्कृति, भाषा, इतिहास, रीतिरिवाज तथा भेषभुषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल रानाथारु युवा समाजले काठमाडौंमा होरि मिलन तथा खखडेहरा कार्यक्रम २०८१ को आयोजना गर्ने भएको छ ।
नेपाल रानाथारु युवा समाज, रानाथारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक सशक्तिकरणका लागि २०८१ साल माघ ७ गते स्थापना गरिएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत रूपमा दर्ता भएको यस संस्थाले समुदायको पहिचानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
रानाथारु समुदायको महत्वपूर्ण चाड होलि (होरि) को अवसरमा आयोजना हुने उक्त कार्यक्रममा सांस्कृतिक नृत्य, गीत, झाँकी, तथा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। यस सांस्कृतिक उत्सवले रानाथारु समुदायको मौलिक पहिचानलाई उजागर गर्दै राज्यको मूल प्रवाहमा समुदायको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

ranatharu youth


होलि मिलन तथा खखडेहरा कार्यक्रम २०८१ साल चैत ८ गते काठमाडौंको नारायणचौर पार्क, नक्सालमा आयोजना गरिनेछ । आयोजक नेपाल रानाथारु युवा समाजले सम्पूर्ण रानाथारु दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नै संस्कृति, परम्परा, र एकतालाई मजबुत बनाउन आग्रह गरेको छ ।
रानाथारु समुदायमा होलि पर्व विशेष महत्व राख्छ । यसलाई उनीहरू होरि भनेर सम्बोधन गर्छन् र झण्डै ४० दिनसम्म उत्साहपूर्वक मनाउँछन् । यस अवसरमा आयोजित होरि मिलन तथा खखडेहरा कार्यक्रमले रानाथारु समुदायको मौलिक परम्परालाई जोगाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा विशेष व्यक्तित्वहरूको उपस्थिति रहने र समुदायका युवाहरूले परम्परागत पहिरनमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन् । आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थितिलाई आवश्यक ठानेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio