धनगढी, ५ फागुन । फागुन १ गतेदेखि आन्दोलनमा रहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाले धनगढीको मुख्य सडक अवरोद्ध गरेर विरोध प्रदर्शन गरेको छ।
मोर्चाले धनगढीको गुरही चोकदेखि एल.एन. चोकसम्म ¥याली निकालेर एक घण्टा चक्काजाम गरेर विरोध जनाएको हो। विरोद्ध सभालाई सम्बोधन गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले सांसद रेशम चौधरी लगायत ११ जना राजबन्दीहरुको रिहा, झुठ्ठा मुद्धा खारेजी लगायत लालआयोगको प्रतिवेदन सार्वजनिकको माग राख्दै अनशन बसेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु पाँचौ दिन सम्मपनि सरकार बेखबर रहेको बताए । उनले केन्द्रीय सरकारसँगै नजिकै रहेको प्रदेश सरकारपनि अनशनरत थारुको स्वास्थ्य प्रति कुनै चासो नदिएको आरोप लगाए । विधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ । यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठान लगायतमा आगजनी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ ।