राजवन्दीलाई रिहाईकाे माग गर्दै थरुहट थारुवान मोर्चाद्वारा आन्दोलन घोषणा

८ माघ २०७६, बुधबार
राजवन्दीलाई रिहाईकाे माग गर्दै  थरुहट थारुवान मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौं, ८ माघ । प्रतिनिधि सभा सांसद रेशम चौधरी सहितको रिहाईका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आगामी फागुन १ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको छ । सोअघि सरकार, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी माग सम्बोधनको पहल गर्ने मोर्चाले बताएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै मोर्चाका अध्यक्ष लक्ष्मण थारुले सोझा र इमान्दारिताको बदलामा सांसदसहित थारुहरुलाई विनाकारण काराबास जीवन जिउन बाध्यपार्नु दुर्भाग्यपूर्ण भएको भन्दै रिहाईको माग गर्दै दवावको कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो । राजबन्दी रिहाईसहित संविधान संशोधन, थरुहट प्रदेशको सुनिश्चित्ता, लोकसेवामा थारुसहित आदिबासी जनजातिको जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतको माग मोर्चाले अघि सारेको छ ।
मोर्चाका संयोजक थारुका अनुसार थरुहटमा थारुले आन्दोलनको घोषणा गरेपनि सबै आदिबासी जनजातिको साथ, समर्थन र ऐक्यवद्धता रहेको बताउनुभयो । टीकापुर घटनापछि गठित विभिन्न आयोग र समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक नगरी थारुको सूचनाको हक हनन भएको भन्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
मोर्चाका प्रवक्ता मिनराज थारुकाअनुसार माघ १४ गते प्रधानमन्त्री सहित सत्तापक्ष र प्रतिपक्षीदलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने, १८ गते कैलालीको धनगढीमा बृहत कार्यक्रमको आयोजना गर्ने, २४ गते कुटनीतिक नियोग तथा मानवअधिकार आयोगलाई संघर्षको कार्यक्रमबारे जानकारी गराउने, २५ गते पहिचान पक्षधरहरुसँग काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, फागुन १ गते कैलालीको धनगढीबाट सामुहिक आमरण अनसनको थालनी गर्ने, फागुन २ गते धनगढीबाट विरोध प्रदर्शन गर्ने, फागुन ५ गते पत्रकार सम्मेलन मार्फत तीन दिने आमहडताल घोषणा गर्ने र तीन दिनको बन्द पश्चात् पनि माग सुनुवाई नभए लगत्तै अनिश्चित्कालिन बन्द घोषणा गर्ने संघर्षको कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ ।
सोहीअनुसार मोर्चाले थारु समुदायको प्रमुख चाडपर्वमा सार्वजनिक विदा दिनुपर्ने, प्रथाजनित संस्कार संस्कृतिलाई कानुनी मान्यता दिइनुपर्ने, थरुहट भूमिलाई खण्डिकरण गर्न नहुने, बाँके र वर्दियालाई कर्णालीमा मिसाउने कुराको समेत मोर्चाले विरोध गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, पूर्व सांसद आर.के. खम्बु, आदिबासी नेता कुमार लिङ्देन लगायतले थरुहटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको थियो ।रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio