बेदकाेट,३ असाड ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ जडेपानीमा रहेको श्री बैजनाथ नमुना माध्यमिक विद्यालयको १२ कोठे भवनको बिहिबार भर्चुअल माध्यमबाट शिलान्यास गर्नुहुँदै नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आगामी आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेत आवश्यक बजेट विनियोजन भएकोले त्यसको सफल कार्यान्वयन हुने बताउनु भएको छ । उहाँले बैजनाथ नमुना माध्यमिक विद्यालयको व्यवस्थापनका बारेमा सबै पक्षबाट सकारात्मक जानकारी पाएको उल्लेख गर्नुहुँदै विद्यार्थी संख्या अनुपातमा शिक्षक दरबन्दी कम भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो ।
त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले विद्यालयको संख्या बढाउनु भन्दा भएका विद्यालयहरुमा गुणस्तर र सुविधा बढाउनु पर्नेमा जोड दिनुभयो । तराई क्षेत्रमा गाउँपिच्चे थुप्रै विद्यालय सञ्चालनमा रहेको तर विद्यार्थी संख्या तथा गुणस्तर कम हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सकभर नजिकका विद्यालयहरुलाई एकापसमा गाभ्नु पर्ने धारणा राख्नु भयो । बैजनाथ नमुना माध्यमिक विद्यालय जडेपानी हरेक दृष्टिकोणले उत्कृष्ट रहेकोमा प्रशंसा गर्दै धामीले आगामी दिनहरुमा समेत आफ्नो गौरवलाई बढाउँदै लैजाने गरी कार्य गर्न विद्यालय परिवारलाई अनुरोध गर्नुभयो ।
श्री बैजनाथ नमुना माध्यमिक विद्यालय जडेपानीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं संविधान सभा सदस्य कृपाराम रानाले नमुना विद्यालयका रुपमा स्थापित भएपछि पहिलो उपलब्धीका रुपमा उक्त भवन निर्माण शुरु हुन लागेको बताउनु भयो । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क दिने सरकारको नीति बमोजिम विद्यालयले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको उहाँको भनाइ छ । सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी संख्या, जिल्लामै उत्कृष्ट एवं आधुनिक प्रविधि युक्त उक्त विद्यालय हरेक क्षेत्रबाट नमुना विद्यालयका रुपमा रहेको अध्यक्ष रानाको दाबी छ ।
शिक्षा तथा मानव स्रोत विभागबाट प्रतिवर्ष १ करोड ५० लाखका दरले ५ वर्षसम्म जम्मा ७ करोड ५० लाख रकम अनुदान पाउने बताइएको छ ।उक्त विद्यालयले पहिलो वर्ष ४ कोठे भवन निर्माणका लागि टेन्डर आह्वान गर्दा ४१ प्रतिशत घटाघटीमा दोगदा भुमिराज कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको र बाँकी रकमले विद्यालयको घेरपर्खाल निर्माण कार्य गरिने उहाँले बताउनु भयो । विद्यालयलाई आगामी दिनहरुमा उपयुक्त विज्ञान र प्रविधिसँगै स्तरोन्नत्ति गरी भविष्यमा बहुमुखी क्याम्पससम्म सञ्चालन गर्ने योजना रहेको विद्यालय परिवारले जनाएको छ ।
भर्चुअल माध्यम (जुम एप्स) बाट सञ्चालित कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द सहित जनप्रतिनिधिहरु, वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित कर्मचारीहरु, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । त्यस्तै, विद्यालय प्रांगणमा विधिवत् रुपमा पुरोहित मार्फत पुजाआजा समेत गरिएको बताइएको छ ।