धनगढी, १३ बैशाख
धनगढी उप–महानगरपालिकाले प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझादारीमा संचालनमा ल्याएको धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटको भवन शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सोमबार भवनको सिलन्यास गरेका हुन । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको छ । भवनको सिलन्यास गर्दै नगरप्रमुख वडले यस क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको बताए । भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन हुने गरेको हो । सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी पोलिटेक्निक इन्ष्टिच्यूट मात्रै भएको बताईएको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताईन । धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटले अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सिपमूलक तालिम संचालन गर्दै आईरहेको छ उप–प्रमुख भट्टले भनिन्, ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’
धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८० हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।