कञ्चनपुरका आरक्ष पीडितका माग सम्बोधन गर्न काग्रेस नेता एनपी साउदको माग

५ बैशाख २०७८, आईतवार
कञ्चनपुरका आरक्ष पीडितका माग सम्बोधन गर्न काग्रेस नेता एनपी साउदको माग

धनगढी,५ बेशाख ।

नेपाली कांग्रेसका नेता एनपी साउदले गृहजिल्ला कञ्चनपुरका आरक्ष पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । उनले कञ्चनपुरमा जारी आरक्ष पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग माग गरेका हुन् ।

“समस्या बल्झाएर गरिव निमुखा सुकुम्बासी आरक्ष पीडित किसान दाजुभाइ दिदिबहिनीहरुसँग उहाँहरू जस्तो भोटको सस्तो राजनीति गर्नुभन्दा पीडितहरूले चलाइरहनु भएको शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै यो समस्याको स्थायी समाधान गर्न सरकारले ठोस पहल गरोस् भन्ने माग गर्दछु,” नेता साउदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विस्तारका क्रममा पीडित जनताको पुनःस्र्थापना र राहतका लागि ३० औं आयोग गठन भइसकेका छन् । तर, उनीहरुको समस्या अझै समाधान भने हुन सकेको छैन ।

नेता साउदले आफू सिंचाईमन्त्री भएका बेला सरकारले आरक्ष पीडित जनतालाई जग्गा वा रकम उपलब्ध गराउने गरि एक अर्ब रुपैयाँ विनियोजन गर्दा मुआब्जा रकम कम भएको भन्दै तत्कालीन समयमा नेकपा एमाले र माओवादीले विरोध गरेको पनि स्मरण गराएका छन् ।

नेता साउदले तत्कालीन समयमा एक अर्ब रुपैयाँ मुआब्जा वितरणका लागि बजेट विनियोजन गर्दा विरोध गर्ने एमाले र माओवादी पटक–पटक सरकारमा गए पनि आरक्ष पीडितको समस्या समाधानका लागि सिन्कोसम्म नभाँचेको टिप्पणी गरेका छन्

“नेपाली कांग्रेसको सुशील कोइराला नेतृत्वको सरकारमा म पनि मन्त्री भएका बखत मात्र पीडित किसानलाई जग्गा अथवा रकम उपलब्ध गराउने गरि लगभग एक अर्ब रुपैयाँ सरकारले निकासा गरेको थियो,”

उनले लेखेका छन्, “मुआब्जा रकम कम भएको भनेर तत्कालीन समयमा एमाले र माओवादीहरूले विरोध गरेका थिए । त्यसपछि उनीहरू पटक–पटक सरकारमा गइसकेका छन् र हाल पनि सरकार चलाइरहेका छन् । तर, पनि यो समस्या समाधानका लागि एउटा आयोग गठन गर्नु त परको कुरा सिन्कोसम्म भाच्न सकेका छैनन् ।”

Wedding Story advertisement Of Jems Movies & Photo Studio