धनगढी, २ चैत
विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर धनगढी उपमहानगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
धनगढी उप–महानगरपालिका र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हकहित संरक्षण मञ्चको समन्वय भएको थियो ।
सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, उपभोक्ता शिक्षाका कार्यक्रमहरु संचालन गरिनुपर्ने, अनुगमनलाई चाडपर्व केन्द्रित मात्रै बनाउन नहुने सुझाव राखेका थिए । कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख कमल पुन, उज्वल कोईराला र उपभोक्ता हकहित संरक्षण मञ्च कैलालीका अध्यक्ष धनपती ढुंगेलले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बजारमा गुणस्तरहित बस्तुको विक्रीवितरण रोकथामका लागि उपभोक्ता शिक्षा आवश्यक रहेको बताए । बुझेकै उपभोक्ताले पनि गुणस्तरका बिषयमा ख्याल गरेको पाईदैन नगरप्रमुख वडले भने, ‘ यसका लागि स्वयं उपभोक्ता बढी सचेत हुनुपर्ने देखिन्छ ।’ उपभोक्ता सचेत भएमा गलत गर्नेले पनि गर्न नसक्ने नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा नगरस्तरीय बजार अनुगमन समितिका संयोजक सुशीला मिश्र भट्टले मुल्यलाई मात्रै ध्यायन दिदा उपभोक्ताहरु चुक्ने गरेको बताईन । कम मुल्यमा बस्तु पाईएमा उपभोक्ताहरु त्यसको खरिद गर्दछन् उप–प्रमुख भट्टले भनिन्,‘ जसका कारण उपभोक्ताहरु सम्म गुणस्तरहिन बस्तु पुग्ने गर्दछ । नियमन प्रकृयालाई प्रभावकारी बनाउनका लागि आम संचार माध्यम, उपभोक्ता र सरोकारवालाहरुले सक्रिय भूमिका खेल्नुपर्ने उप–प्रमुख भट्टले बताईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले हामी उपभोक्ताहरु नै हौ भनेर सबैले सोचेमा गुणस्तरहिन बस्तु बजार सम्म नपुग्ने बताए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावद, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका उप–सचिव राम बिचारी ठाकुर र कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले धारणा राखेका थिए ।