कञ्चनपुरका उखु कृषकहरुलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण

१५ फाल्गुन २०७७, शनिबार
कञ्चनपुरका  उखु कृषकहरुलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण

कञ्चनपुर, १५ फागुन ।

कञ्चनपुरका उखु कृषकहरुलाई यान्त्रीकरणमा सहयोग पुर्याउने उद्देश्यले अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीले उखु कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण प्रदान गरेको हो ।

जसबाट व्यावसायिक उखु खेती गर्ने कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । कृषकहरुको लागत मुल्य घटाएर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समितिमा आवद्ध व्यावसायिक उखु कृषकहरुलाई अनुदानमा यन्त्र तथा उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिष्टले बताउनु भयो ।

उखु खेती सँगै धान, गहुँ तथा बगर खेतीमा समेत लालझाडी गाउँपालिकाका कृषकहरु केन्द्रित भएका छन् । पछिल्लो समयमा स्थानीय तहसँगै अन्य सरकारी निकायबाट कृषकहरुलाई लक्षित गरी वितरण गरिएका विउविजन, यन्त्र तथा उपकरणहरुको सही सदुपयोग गरी उत्पादन र आयआर्जनमा वृद्धि गर्नुपर्नेमा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जोड दिनुभयो ।

त्यस्तै, लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हेमराज रानाले परम्परागत ढंगबाट खेती गर्नु भन्दा आधुनिक प्रणालीबाट खेती गर्दा कृषकको जिविकोपार्जनमा सहज हुने र उद्योगहरुलाई समेत पर्याप्त मात्रामा कच्चापद्दार्थ उपलब्ध गराउन सकिने बताउनु भयो ।उन्नत जातको उखु खेतीलाई प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्रले बिउविजन, मलखाद, विषादी, कृषि औजार वितरणसँगै आवश्यक सहयोगका लागि कृषि प्राविधिक समेत खटाएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत रण बहादुर मल्लको भनाइ छ ।

कृषकहरुलाई उखु खेतीतर्फ प्रोत्साहन गर्ने र बेलाबेलामा आइपर्ने प्राविधिक समस्या समाधानका लागि महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीले समेत टेवा पुर्याइरहेको महाकाली सुगर ईन्डष्ट्रिज प्रा.लि., बेलौरीका उखु प्रबन्धक राजेश्वर प्रसाद शाहले बताउनु भयो । पछिल्लो समयमा कृषकहरु उखु खेतीतर्फ आकर्षित भएपनि हात्ती लगायतका वन्यजन्तुहरुले उखु खेती नष्ट गर्ने गरेको लालझाडी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य गर्भु रानाले दुखेसो पोख्नुभयो ।

गतवर्षदेखि लालझाडी गाउँपालिकाका ६ ओटा वडा मध्ये १ देखि ४ नम्बर वडासम्म लागु गरिएको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४७ लाख ९९ हजार ३ सय १८ रुपैयाँ सरकारी अनुदान र २७ लाख १९ हजार ६ सय ६५ रुपैयाँ कृषक समन्वय समितिले व्यहोर्ने गरी जम्मा ७५ लाख १८ हजार ९ सय ८३ रुपैयाँ बजेट विनियोजन गरिएको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समिति लालझाडीका अध्यक्ष नरेश रानाले जानकारी दिनुभयो ।

कृषि यन्त्र तथा उपकरणबाट यहाँका थुप्रै कृषकहरु आधुनिक कृषि प्रणालीमा अग्रसर भइरहेका छन् । यद्यपि अनुदानमा प्राप्त यन्त्र तथा उपकरणको सामूहिक प्रयोग र उचित व्यवस्थापनमा समेत सरोकारवाला निकायले निगरानी बढाउनु पर्ने देखिन्छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio