जनताहरुका सपना कुल्चिने र संविधानको अपमान , डा. भीम रावल

१४ पुष २०७७, मंगलवार
जनताहरुका सपना कुल्चिने र संविधानको अपमान , डा. भीम रावल

कैलाली, १४ पुस ।
संसद् विघटनको विरोधमा नेपका प्रचण्ड–नेपाल पक्षले मंगलबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बाधेन गर्दै नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्रीद्वारा नेपालको संविधानको धारा ७६ र ८५ को गलत प्रयोग गरि नेपाली जनताहरुका सपना कुल्चिने र संविधानको अपमान गर्ने कुकृत्य गरेको अरोप लगाए ।
नेता रावलले आफूहरुले ३ वर्ष अगाडी लिएको संकल्प र स्वतन्त्रता स्वाधिन नेपालको परिकल्पना माथि पनि बज्रपात भएको बताए ।
‘आज भन्दा करिब ३ बर्ष अगाडी हामीले संकल्प गरेका थियोँ, अब हामी नेपाली जनता एकतावद्ध भएर अघि बढ्ने छाँै, किसान जनताका आवाज सुन्ने छौँ, श्रमिक जनताका आवाज सुन्ने छौँ, देशभक्त नेपाली जनताका आवाज सुनेर राष्ट्रियताका झण्डा बुलन्द गर्नेछौँ’, उनले भने–‘आज नेपाली जनताहरुका सपना माथि नेपाल राष्ट्रको स्वतन्त्र समृद्ध हुने माथि मेरै पार्टीका कुनै बेला अध्यक्ष रहनु भएका केपी शर्मा ओली बज्रपात गर्नु भएको छ ।’
नेता रावलले नेपालको संविधान ल्याए पछि भारतीय नाकाबन्दी भए पनि आफूहरुले कुनै पनि विदेशी प्रतिक्रियाबादी र कुनै पनि प्रतिगामी तत्व अगाडी नझुकी राष्ट्रिय स्वाधिनताका पक्षमा उभिएको बताए । तर निर्वाचनमा प्राप्त बहुमत र निर्वाचनताका जारी घोषणा पत्र पनि प्रधानमन्त्री ओलीले बुट बजारेर नेपाली जनतामाथिको विश्वासघात गरेको बताए ।
प्रधानमन्त्री ओलीले चुनावमा उठाइएका आफ्ना नाराहरुलाई आफ्नै बुटले कुल्चिनु भएको छ’, नेता रावलले भने–‘त्यस कारण तपाईहरु सम्पूर्णलाई भन्न चाहन्छु, चाहे कोइ व्यक्ति प्रधानमन्त्री होस, चाहे कोइ व्यक्ति राष्ट्रपति किन नहोस, नेपाली जनताका जनमत कुल्चने अधिकार कसैलाई छैन ।’
उनले अगाडी भने–‘नेपाल राष्ट्रको स्वतन्त्रताको प्रतिक चिन्हको रुपमा रहेको, अभिव्यक्ति र प्रतिविम्वको रुपमा रहेको नेपाली जनता एक पटक हैन, दुई–दुई पटक संविधान सभाको चुनाव गरेर ती संविधान सभाका सदस्यहरुले शहिदहरुका रगत र पसिनाले लेखेको नेपालको संविधानमाथि बुट बजार्ने अधिकार कसैलाई पनि छैन ।’
प्रधानमन्त्री ओलीले भर्खरै मन्त्रीपरिषद विस्तार गरेको प्रति उनले कर्तव्यच्युत भएकाहरुले पनि गुलियो चाट्नका लागि मन्त्री भएको अरोप लगाए ।
उनले भने–‘प्रतिनिधि सभा सदस्यसमेत नरहेका कतिपय व्यक्तिहरु गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका हुन ।’ उनले वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिए जस्तो मन्त्री पद् दिएको टिप्पणी पनि गरे ।
नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूलठूला कुरा बोल्ने गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए । ‘नक्शा किन चाहियो ? नक्शामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो’, रावलले भने । ‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछिमात्रै उहाँले बाध्य भएर नक्शा प्रकाशित गर्नु भएको हो ।’

Wedding Story advertisement Of Jems Movies & Photo Studio