काठमाडौं ,७ पुस।
सूर्य चिन्ह र ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम केपी शर्मा ओलीको नेतृत्वमा रहने निश्चित देखिएको छ ।
अर्थात्, राजनीतिक रुपमा मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुन सक्छ । कानुनी रुपमा भने सूर्य चिन्ह र ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम केपी शर्मा ओलीकै नेतृत्वमा रहने पक्का छ ।
नेकपामा सर्वाधिक खिचातानीको विषय चुनाव चिन्ह सूर्य र नेकपा नाममा हुने प्रचार गरिँदै आएको थियो । तर, निर्वाचन कानुन तथा अन्य कानुनका आधारमा केपी ओलीको हातमाथि परिसकेको जानकारहरुले बताएका छन् । चुनाव चिन्ह र नेकपा नाममा कुनै खिचातानी नहुने अवस्था देखिएको छ ।
आज ओलीको अध्यक्षतामा बालुवाटारमा नेकपा केन्द्रीय कमिटीको बैठक राखिएको थियो । उता, पूर्व माओवादी लगायतले बबरमहलमा बैठक राखेका थिए । पूर्व माओवादीको बैठकलाई पनि नेकपा केन्द्रीय कमिटी नै नाम दिइएको थियो ।