कैलाली, २९ मंसिर ।
नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताए ।
काँग्रेसद्वारा धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने बताए ।
‘सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताईरहेको छ । यस्तो हावादारी सरकारलाई मुर्दाबाद भन्दा पनि फरक पर्दैन ।’ युवा नेता थापाले भ्रष्टाचार गर्दैन भन्ने सरकारले वाईड बडी पुरै खाएको आरोप लगाए ।नेकपा सरकारको सर्वससत्तावादको बिरोध गर्दै उनले राष्ट्रपति बिद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै चर्को आलोचना समेत गरे । `राष्ट्रपति आँखा नचिम्क्याई बक्स्योस, हात लम्काईस्योस, हिम्मत छ भने काठमाण्डौमा चुनाव लड्न आइस्योस ।’
राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम जस्तो सम्मानित भएर बस्नु पर्नेमा नेकपाको नेताका रुपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै यूवा नेता थापाको आलोचना थियो ।
उनले सुदूर पश्चिमका जनताले लाचार र निरिह मुख्यमन्त्रीका कारण दुःख पाएको आरोप समेत लगाए । मुख्यमन्त्रीकै कारण सुदूर पश्चिमका जनताको परिवतर्नन र विकासको अपेक्षा पुरा हुन नसकेको बताए । ४० मिनेट लामो सम्बोधनमा उनले सत्तारुढ दलका नेताहरुको आलोचनामा विताए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असफल भएको भन्दै नेपाली काँग्रेस देशभरि विरोध प्रदर्शन गरेको हो ।
धनगढीको विरोध सभामा पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट लगायतले सम्बोधन गरेका थिए ।