धनगढी,२४ मंसिर ।
के हुदैछ हतियार सहित संगठित अपराधमा पक्राउ परेका धनगढी उपमहानगरपालिका -६ मटियारीका सन्जय राणाको मुद्दा । २४ मङ्सिर कैलाली-हातहतियार सहित पक्राउ परेका राणाको मुद्दा बुधवार फैसला हुन सकेन ।
२०७६ भदौ १८ गते हातहतियार ,करोडौँका तमसुक र चेकहरू सहित पक्राउ परेका राणा विरुद्धको मुद्दा बुधाबार पेसी तोकिएको थियो । तर, सरकारी वकिल र कानुन व्यवसायीको निवेदनको आधारमा बुधवार तोकिएको पेशी २ सातालाई सारिएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले बताए ।
उनले अर्का पेशी पुस ८ गते तोकिएको जानकारी दिए । राणासँगै पक्राउ परेका कमल विक र कल्पना दियाकोटी भन्ने धरौटीमा छुटिसकेका छन् ।प्रहरीले उनीहरूलाई पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, सात राउन्ड गोली, ६ सय ७९ ग्राम सुनका गहना, १८ करोड तीन लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिका नाममा लिनदिने गरी बनाएको २३ थान तमसुक बरामद गरेको थियो ।
त्यस्तै प्रहरीले दुई करोड ४५ लाख २० हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेक, एक अर्ब ९० करोड रुपैयाँको नेपाल राष्ट्र बैङ्कले जारी गरेको भनिएको बैङ्क ड्राफ्ट तीन थान बरामद गरेको थियो ।