नरेश राना/लालझाडी,१४ कातिक ।
कञ्चनपुरको लालझाडीमा दोदा नदि कटान नियन्त्रण तथा तटबन्ध गर्नका लागि तटबन्ध समितिले लालझाडी गाउँपालिकालाई ज्ञापन–पत्र बुझाइएको छ ।
पछिल्लो एक दशक यता मात्रै पनि दोदा नदिको कटानले सयौं घरपरिवार विस्थापित भइसकेको छ र कैयौँ विघा खेतीयोग्य जमिन समेत वगरमा परिणत भएको र अझै पनि उक्त क्षेत्र निकै जोखिममा रहेकोले यथासिघ्र तटबन्ध निर्माणको प्रबन्ध मिलाउन विहिवार गाउँपालिका अध्यक्ष मदनसेन वडायकलाई ज्ञापन–पत्र वुझाइएको संघर्ष समितिका अध्यक्ष रमेश चौधरीले बताउनु भयो ।
उहाँका अनुसार वडाका बुद्धिजिवी समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, भलमन्सा, युवा तथा आम जनसमुदायहरु भेला भई आवश्यक छलफल गरी एक हप्ता भित्र तटबन्ध निर्माण कार्य प्रारम्भ गर्न अल्टिमेटम सहित ज्ञापन–पत्र बुझाइएको छ ।
कञ्चनपुरको विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको दोदा नदिले लालझाडी गाउँपालिका वडा नं. ३ को छोटी पर्सिया, डुङ्गा, पर्सिया, नन्दगाउँ समेत क्षति पुर्याएको संघर्ष समितिका उपाध्यक्ष बल बहादुर केसीले बताउनु भयो ।
तीनै तहका सरकारमा सो क्षेत्रबाट निर्वाचन जन प्रतिनिधीको क्षेत्र भएपनि नागरीकको समस्या समाधान भने नभएको संघर्ष समितिका सदस्य जनक सिंहको आरोप छ । लामो समयदेखी तिव्रा कटान गरिरहेको दोदा नदिमा तटबन्ध निर्माणका लागि वडा तह र सरोकारवाला निकायले निरन्तर पहल गर्दा समेत उपलब्धी नदेखीएको लालझाडी गा.पा. वडा नं. ३ का वडा अध्यक्ष टीका राम डंगौरा ले बताए ।
दोदा नदि तटबन्ध संघर्ष समितिले बुझाइएको ज्ञापन–पत्र बुझ्दै लालझाडी गा.पा. अध्यक्ष वडायकले गा.पा.को बजेटले तटबन्ध नपुगेकोले यसलाई प्रदेश संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रविधिक दृष्टिकोणले पुर्व रुपमा तटबन्ध निर्माणका लागि १८ कारोड भन्दा वढी लाग्ने गा.पा. अध्यक्ष वडायकको भनाई छ । उहाँले लालझाडीको विकासका लागि चाडपर्व लगतै प्रदेश र संघीय सरकार समक्ष डेलीकेशन जाने तयारीमा रहेको बताउनु भयो ।