धनगढी,२२ भादाै ।
मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले फौजदारी कसुरको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला परेको घटना र उक्त घटनाका सम्वन्धमा प्रकाशित समाचारको विषयलाई लिएर संचारगृहमा भएको आक्रमण र कुटपिटको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दे फौजदारी कसुरको अनुसान्धानको क्रममा जिल्ला प्रहरी कार्यालय,कैलालीको प्रहरी हिरासतमा रहेका कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं ५ जाई बस्ने वर्ष १९ का रोशन विक २०७७ भाद्र २६ गते प्रहरी हिरासत भित्र मृत अवस्थामा फेला परेको भनिएको घटना र उक्त घटनालाई लिएर दिनेश खबरमा प्रकाशित समाचारलाई लिएर भएको आक्रमण र कुटपिटको हुनु आफैमा अत्यन्तै दुखद घटना भएको जनाएका छन् । अनुसन्धान तथा पूर्पक्षका लागि राज्यको सुरक्षा निकायको न्यायिक प्रहरी हिरासतमा रहेका व्यक्ति मृत अवस्थामा फेला पर्नु चिन्ता र अत्यन्तै गम्भीर सवाल भएकोले प्रहरी थुनुवा कक्ष तथा कारागारहरुमा भौतिक तथा मानवीय वातावरण निर्माण तथा सुधार गर्न राज्य समक्ष हार्दिक अपिल गर्दछौ विज्ञप्तीमा भनिएको छ । त्यसैगरी विज्ञप्तीमा समाचार प्रकाशन प्रशारणमा असहमति भएको वा चित्त नबुझेको भएमा कानुनी बाटो अख्तियार गर्नुपर्नेमा सो नगरी सञ्चारकर्मीमाथि हातपात, कुटपिट गरिनु निन्दनीय र खेदजनक कार्य हो तसर्थ उक्त दुवै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारवाहीका लागि सम्वद्ध सरोकारवाला निकायसंग मासमले माग समेत गरेको छ । अतः भविष्यमा यस्ता घटना दोहरिन नदिन र व्यक्तिको बाँच्न पाउँने संविधानप्रद्धत मौलिक हक तथा मानवअधिकारको संरक्षण तथा आमसंचार जगतले निर्भिकतापूर्वक समाचार सम्प्रेशण गर्न पाउँने अधिकारको संरक्षण गर्न मासम प्रदेश अध्यक्ष जोशीले नेपाल सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।