काठमाडौ, २८ जेठ । सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि भने राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई नगर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । ‘कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, विद्यालयहरुमा क्वारेन्टाइन बनाइएको छ,
’ मन्त्री पोखरेलले भने, ‘परीक्षा गर्ने वातावरण नभएकाले आन्तरिक मूल्याङकनलाई वैधता दिने निर्णय भयो ।’ बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्ने समेत उनले जानकारी दिए । आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताए ।
विद्यालयबाट यसअघि हुँदै आएको मूल्याङ्कनकै आधारमा बोर्डबाट प्रमाणीकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो । विद्यालयले यसअघि नै गरेको मूल्याङ्कनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।
चैत ६ गतेदेखि सञ्चालन गर्न समय तालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा अनिश्चित बन्दै जाँदा सरकारले बुधबार यस वर्ष परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो ।रासस