धनगढी उप–महानगरपालिकाले अव काममा आधारीत राहत दिने सामाजिक दूरी कायम गरेर श्रमिकलाई रोजगारी दिईने

२९ बैशाख २०७७, सोमबार
धनगढी उप–महानगरपालिकाले अव काममा आधारीत राहत दिने  सामाजिक दूरी कायम गरेर श्रमिकलाई रोजगारी दिईने

धनगढी,२९ बैशाख
लक डाउनका कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुलाई लक्षित गर्दै धनगढी उप–महानगरपालिकाले काम दिएर राहत दिने नीति ल्याएको छ ।
लक डाउनमा श्रमिकहरुलाई लक्षित गर्दै उप–महानगरपालिकाले दुईपटक राहत प्याकेज ल्याएर दिई सके पनि उनीहरुलाई अझै दैनिक उपभोग्य सामानमा कमी हुन थालेपछि काममा आधारित ज्याला दिएर राहत दिने नीति ल्याएको हो । उप–महानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको छ ।
अहिलेसम्म श्रमिक तथा विद्यार्थी गरेर १३ हजार ३ सय ७ परिवारलाई राहत वितरण गरेको उप–महानगरपालिकाले अब भने श्रमिकलाई काम दिएर काम बापतको पारिश्रमिक दिई राहत दिन थालेको उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडले बताए । उनले भने,‘दुई महिना विकास निर्माणका काममा अवरोध भएका कारण नगरमा भइरहेका विकासे काममा श्रमिकलाई सामाजिक दूरी कायम गरी कामबापत उनीहरुलाई उचित पारिश्रमिक दिनेछौँ ।’
लक डाउनका कारण घरमै बसिरहेका श्रमिकलाई परिचालन गरेर विकास निर्माण पनि गरिने र उनीहरुलाई पारिश्रमिक दिई आत्म निर्भर बनाउन उप–महानगरपालिकाले यो निर्णय गरेको बताउँदै उनले भने,‘दैनिक ज्यालादारी गरेर जहान परिवार पाल्ने परिवार फुर्स्दिलो भएकाले उनीहरुलाई सामाजिक दूरी कायम गरी काममा लगाउने र त्यसले रोकिएको विकास पनि द्रुत गतिमा अगाडि बढ्नेछ ।’ काम नपाएर बसेका श्रमिकलाई सामाजिक दूरी कामय गर्दै काम दिएमा विकासले गति लिने र राहत पनि हुने भएकाले यो निर्णय गरिएको बताउँदै नगर प्रमुख वडले भने,‘खाली बसेका सबैलाई हामी केही न केही काम दिन्छौँ ।’ रोजगारीको सिलसिलामा भारत गएकाहरु लक डाउनका कारण फर्केपछि उनीहरुलाई पनि आफ्नै गाउँघरमा स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम दिई काम गराउनुका साथै कृषि तथा अन्य व्यवसायमा प्रेरित गर्न पनि उप–महानगरपालिकाले योजना बनाएको बताउँदै उनले भने,‘तत्काल हामी श्रमिकलाई काम दिएर राहत उपलब्ध गराउँछौँ, लगत्तै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उनीहरुको माग बमोजिमको काम दिई स्वरोजगार बनाउन नयाँ प्याकेज ल्याउने छौँ ।’
विपद् तथा वातावरण व्यवस्थापन उप–समिति संयोजक प्रेमसिंह बिकका अनुसार धनगढी उप–महानगरपालिकामा अहिलेसम्म नगरका १९ वटै वडामा ३ हजार ९ सय १७ क्विन्टल खाद्यान्न, त्यही मात्रामा दाल, चिनी, नुन, तेल, साबुनहरु वितरण गरिएको छ । यसमा पनि छुटफुट रहेका परिवारलाई पनि उप–महानगरपालिकाले राहत वितरण गरिरहेको उनले बताए । ‘हामी अझै पनि छुटेका परिवारलाई पहिचान गरेर राहत वितरण गरिरहेका छौँ,’ विकले भने,‘कोही नछुटुन् र कोही नदोहोरिउन् भनेर नै हामी रात दिन राहत दिन खटिइरहेका छौँ ।’

Wedding Story advertisement Of Jems Movies & Photo Studio