धनगढी , १८ बैशाख ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य नारदमुनी रानाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बेला भइनसकेको बताएका छन् । जनताले दिएको जनमतको सम्मान र समृद्धीको सपना पुरा गर्न अहिलेलाई ओली बाहेकको विकल्प हुनै नसक्ने प्रतिनिधी सभा सदस्य समेत रहेका सांसद रानाको भनाई छ ।
पाँच वर्ष स्थीर सरकार चलाउन, पार्टी एकता गर्न र समृद्धीको सपना पुरा गर्न दिएको जनमतको अपमान गर्ने छुट कसैसँग नभएको रानाले बताएका छन् । केपी ओलीकै नाममा भोट मागेको र ओलीकै नाममा जनमत प्राप्त भएको दाबी गरेका रानाले जनविश्वास पुरा गर्ने अभिभारा पनि ओलीकै काँधमा रहेको बताएका छन् ।
दुई अध्यक्ष बीचको आपसी समझदारीमा पार्टी एकता भएको हो, निर्णय गरेर पार्टी एकता गर्ने कुरा संभव नै थिएन्, पार्टीलाई भड्कालोमा पार्ने छुट कसैलाई छैन्, विश्वको ठूलो कम्यूनिष्ट पार्टी निर्माण गर्नु गल्ती हो भन्ने कसैलाई भ्रम छ भने मुक्त हुन रानाले आग्रह गरेका छन् ।
सम्मान नपाएको, पद नपाएको कसैलाई छट्पटी हुन सक्छ, ठूलो पार्टीमा सबैले एकैसाथ पद र सम्मान पाउदैनन्, तर त्यसका नाममा गरिने पार्टी विरोधी गतिविधी स्वीकार्न सकिने अवस्था हुदैन्, रेडियो बाजुरासँग कुरा गर्दै रानाले भन्नु भयो ।
पार्टी विरुद्ध देशी विदेशी शक्ति लागि परेको र अदृश्य खेलका खेलाडी नेकपा भित्रकै केही पदलोभीहरु रहेको संकेत रानाले गरेका छन् । नेकपाको एकता र सरकारका काम धेरैलाई चित्त बुझीरहेको छैन्, यसो भन्दैमा लाखौ कार्यकर्ता र सिंगो नेपाली जनताको भविष्य बोकेको पार्टी विरुद्ध लाग्ने छुट कसैसँग नभएको रानाको भनाई छ ।
पार्टी भित्र छलफल, विरोध र बहस नौैलो विषय होइन, नेतृत्वलाई नै संकट पार्ने, अफ्ठ्यरो अवस्था सिर्जना गर्न लाग्नु राम्रो होइन, पार्टी फुटाउने र अस्थीरता ल्याउने अधिकार कसैसँग छैन्, यसले सबैलाई भड्खालोमा हाल्ने चेतावनी रानाले दिएका छन् ।
एउटै विमानमा सवार यात्रुहरुले प्वाल पार्दा आफू सुरक्षित हुने भन्ने लागेको छ भने भ्रम मात्र हो, सरकार केपी ओलीको मात्र होर ? सांसद हुनेहरुले, पार्टीमा जिम्मेवारी लिएकाहरुले सहयोग गर्नु पर्दैन् रानाले थप्नु भयो ।
सचिवालयबाटै पाँच वर्ष ओली प्रधानमन्त्री र प्रचण्ड कार्यकारी पार्टी अध्यक्ष भनेर निर्णय गर्ने, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्न लगाउने अनि बीचमै आएर बखेडा र षड्यन्त्र रच्ने कुरा पार्टी कार्यकर्तालाई मात्र होइन, नेपाली जनतालाई नै स्वीकार्य हुदैन्, रानाले भन्नु भयो ।
नेकपा नेता रानाले अध्यक्ष नपाएसम्म बाँच्न नसक्ने, हावा र प्राण नै नचल्ने भो भन्ने लाग्छ भने हामी जस्तो फुच्चे नेताले भनेर हुदैन्, त्यो सचिवालयले निर्णय गर्र्ने कुरा हो, तर वामदेव प्रधानमन्त्री बनाउने र माधव नेपाललाई अध्यक्ष बनाउने कुरा कतै र कोहीबाट नभएको र मिडियाले अड्कलबाजी मात्र गरेको बताएका छन् ।
इन्जनमा बम पड्काएर डिब्बा गुड्दैन्, अरुलाई मात्र दोष दिनेले आफूमा आउँदा पनि समस्या पर्न सक्छ भन्ने सचेत हुन नेतृत्वलाई आग्रह गरेका छन् । नेतृत्वलाई बलियो गरि जोड्न पार्टी र सरकारका पक्षमा हस्ताक्षर गरेको कुरालाई अन्यथा नलिन आग्रह गरेका रानाले सुदूरपश्चिममा १९ जना मध्ये १४ जना र प्रतिनिधी सभामा १ सय बढीले ओलीकै पक्षमा हस्ताक्षर गरिसकेकोे खुलासा गरेका छन् ।
अध्यादेश सरकारको अधिकार भित्रको कुरा हो, यो नेताहरुकै सहमतिमा आएको र सहमतिमै फिर्ता लिएकोले अन्यथा लिनु पर्ने विषय नै नभएको रानाको भनाई छ । तर होटलमा बस्ने, रमाउने सँगै खानाखाने, आफन्त भेट्ने, स्टार होटलमा बसेर छलफल गर्ने र मन्त्री बनाईदिनु पर्यो भनेर आफै बोलाउने अनि अपहरण गर्यो भनेर आरोप लगाउने कुरा नाटकीय भएकोले यसका पछि नलाग्न आग्रह गरेका छन् ।
कोरोनासँग नेपालले जितिरहेकोले यसमा सबैले अझै साथ दिनु पर्ने सुझाव रानाको छ । नेपाल सरकारको प्रभावकारी कदमका कारण नै अदृश्य युद्धमा सफल भईरहेको र पुरै जितका लागि हामी एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।
कैलालीबाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्ने सांसद रानाले महामारीको लडाइमा सफलता हासिल गर्न सुदूरपश्चिम सरकारले थप गति दिन सुझाव समेत दिएका छन् । सुरक्षा र सावधानीमा ध्यान दिनुको विकल्प नरहेको रानाको भनाई छ । रसस