नरेश राना / कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ कार्यालयको आयोजनामा चौधरी समुदायको लेहेङ्गा र चोलिया तथा राना समुदायको घङ्गरिया र अंगिया बनाउने सम्बन्धी ४५ दिने नि:शुल्क तालिम कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु र चौधरी समुदायका महिलाहरूलाई स्वरोजगारका लागि सीप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो । ४५ दिनसम्म सञ्चालन गरिएको निःशुल्क तालिममा ३९ जना सहभागी हुनुहुन्थ्यो । शनिबार तालिमको समापन गरिएको छ ।

समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले उक्त पोसाकलाई देश भित्र र देश बाहिर समेत निर्यात गर्न सकिने बताउनु भयो ।यस किसिमका सीपमूलक कार्यक्रमहरु नगर क्षेत्रभरि विस्तार गरिने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ । अन्य वक्ताहरूले समेत उक्त सीपलाई आफ्नो आम्दानीको श्रोत बनाउन अनुरोध गर्दै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,

बिशिस्ट अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, जिल्ला समन्वय उपप्रमुख रामकुमारी राना, बेलौरी नगर उपप्रमुख जोगराम चौधरी, कृष्णपुर नगर उपप्रमुख द्रोपति राना, बेलौरी नगरपालिकाका विभिन्न वडाध्यक्ष, वडा सदस्य, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेकोे थियो ।

स्वागत मतव्य बेलौरी नगरपालिका वडा नम्बर ७ वडा सदस्य कमान सिंह चौधरीले राख्नुभएको थियोे भने कार्यक्रम सञ्चालन शिक्षक तेजबहादुर चन्दले गर्नुभएको थियो ।