घर धनी आफै भत्काउन थाले सडक क्षेत्रमा पर्ने घर

२८ माघ २०७६, मंगलवार
घर धनी आफै भत्काउन थाले सडक क्षेत्रमा पर्ने घर

धनगढी, २८ माघ
कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रमा पर्ने घरहरु घरधनी आफै भत्काउन थालेका छन् ।
घर धनी आफै घर भत्काउन थालेपछि सडकको स्तरबृद्धीमा सजिलो भएको छ । पहिले एक लेनको निर्माण गरिएको भएपनि महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेनको बनाउन थालिएको छ । यही तीन किलोमिटर क्षेत्रमा पर्ने घरहरु घर धनी धमाधम भत्काउन थालेका छन् ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडक क्षेत्रमा पर्ने घरहरु घरधनीले भत्काएर सहयोग गरेका कारण काम गर्न सजिलो भएको बताए । ६ लेन सडक बिस्तार गर्दा सडक क्षेत्रका घरहरु भत्काउन आफै डोजरमा बसेर जवरजस्ती गर्नुपरेको बताउदै नगरप्रमुख वडले भने, तर क्याम्पस रोड मनहेरा क्षेत्रका घरधनी आफै घर भत्काउन जुटेका छन् । सडकको स्तरबृद्धीले तत्काल घटा भएपनि दुरगामी रुपमा फाईदा नै हुन्छ नगरप्रमुख वडले भने, त्यसले विकास गर्नमा सहयोग गरेको देखिन्छ । धनगढीमा भैरहेको विकासमा सहयोग गर्ने घरधनी धन्यवादका पात्रपनि हुन नगरप्रमुख वडले भने, नगरवासी सबैलाई विकासमा अवरोध नगरी यसरी नै सहयोग गर्न अनुरोध गर्दछु ।
धनगढी मनहेराकी प्रमिला लम्सालले कुनैपनि ठाउँमा हुने विकासमा स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताईन । उनले भनिन् , घर अगाडी फराकिलो सडक भन्ने भएपछि स्वस्फूर्त रुपमा घर भत्काउने काम गरेका छौं । रेलिङ्ग भत्काई सकेको बताउदै प्रमिलाले भनिनु , भोली देखि घर भत्काउन सुरु गर्छु ।
धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईदेखि चार लेन सम्म स्तरबृद्धी गरिदै छ । सडकको स्तर बृद्धी गरिन थालेपछि सडक क्षेत्रमा पर्ने घर संरचनाहरु भत्काउन थालिएको छ । सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले सो आसपासमा बनेका संचरना भत्काईन लागेको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए । उनले भने, स्थानीयले आफ्नो संरचना आफै भत्काएर सहयोग गरेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio