धनगढी, २५ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबा क्षेत्रलाई हेर्न लायक बनाएकाले एक पटक भएपनि पुग्न सबैलाई आग्रह गरेका छन् ।
शनिवार श्री बेहडाबाबा गुरुकुल स्थापनाका लागि आयोजना गरिन लागेको सप्ताह ज्ञान महायज्ञ २०७६ का बारेमा जानकारी दिनका लागि धामकै आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । बेहडाबाबा धाम क्षेत्रमा उप–महानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार पूर्वाधार विकासको काम धामाधम भैरहेको छ नगरप्रमुख वडले भने, दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण भैरहेको छ । मन्दिरको सुरक्षाका लागि ४ करोड बराबरको बरिपरि पर्खाला निर्माणको काम भैरहेको जानकारी नगरप्रमुख वडले दिए । मन्दिरबाट गंगामाता मन्दिर सम्म पुग्नका लागि छोटोबाटो निर्माण गर्ने तयारी पनि भैरहेको छ नगरप्रमुख वडले भने, मन्दिर परिसर छेउछाउको खालि भागमा पुष्प बगैचा निर्माण गरेका छौं ।
नगरप्रमुख वडले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माणको कार्य सम्पन्न भैसकेको बताए । उनले भने, खानेपानी सौचालय निर्माणको काम समेत पुरा भएको छ । धनगढी उप–महानगरपालिकाको बेहडाबाबा मुख्य धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले यसको प्रचारप्रशार आवश्यक भएको बताए । उनले भने, धनगढी पुग्ने हरेक ब्यक्तिलाई बेहडाबाबा पु¥याउने वाताबरण बनाउनुपर्छ ।
श्री बेहडाबाबा गुरुकुल स्थापनाका लागि आगामी फागुन २० गते देखि चैत २ गते सम्म सप्ताहज्ञान महायज्ञको आयोजना गरिन लागेको बेहडाबाबा मन्दिर ब्यबस्थापन समितिका सचिव पदमराज जोशीले बताए । उनले भने, स्थानीय सरकार पनि गुरुकुल विद्यालय संचालनमा सहयोग गर्न तयार छ त्यसका लागि वातावरण बनाउन यज्ञ आयोजना गर्न लागिएको हो । यज्ञ अवधीभर भक्तजनका लागि बेहडाबाबा सम्म पुग्न निशुल्क बस सेवा समेत संचालन गरिने बताईएको छ ।