कञ्चनपुर। जेन्जी सहिद दिवसको अवसरमा कञ्चनपुरको लालझाडीमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । गत वर्ष देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यको माग राख्दै भएको ऐतिहासिक जेन्जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा सरकारले भदौ २३ गते देशभर सार्वजनिक शोक बिदा दिएको सन्दर्भमा यो कार्यक्रम गरिएको हो ।

जनआन्दोलनका क्रममा देशभर ७६ जना युवाहरूले आफ्नो जीवन उत्सर्ग गरेका थिए। तिनै अमर सहिदहरूप्रति सम्मान व्यक्त गर्दै लालझाडी गाउँपालिका वडा नम्बर ४ स्थित वडा कार्यालय नजिक स्थानीय युवाहरूले श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन् ।

लालझाडीका स्वतन्त्र संयोजक एवम् अभियन्ता नारायण रानाको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा सडकमा फूलका पात र मैनबत्तीको प्रयोग गरी नेपालको राष्ट्रिय झण्डा तथा “जेन्जी सहिद दिवस” को आकृति बनाएर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै संयोजक नारायण रानाले देशमा व्यवस्था सुधार र सुशासनका लागि सहिदहरूले पुर्‍याएको योगदान अमर रहने बताउनुभयो । सो अवसरमा सहभागी युवाहरूले सहिदहरूको सपना पूरा गर्न र उहाँहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्न प्रतिबद्धता जनाएका छन् ।

सेयर कर दियो ।