रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरूका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । यी केन्द्रहरूमार्फत आइतबार मात्रै कूल ३,४५४ जना बाढी प्रभावित नागरिकहरूले अस्थायी आश्रय तथा आवश्यक राहत सामग्री प्राप्त गरेका छन् ।
नुवाकोटमा सञ्चालित १६ वटा आश्रयस्थल तथा शिविरहरूमा २,२७४ जना नागरिकले आश्रय लिएका छन् । विदुर, बेत्रावती, बट्टार, देवीघाट, बेलकोटगढी र किस्पाङका विभिन्न विद्यालय, कवर्ड हल, सेफहाउस तथा स्वास्थ्य चौकीहरूमा प्रभावितहरूको बसोबासको प्रबन्ध मिलाइएको छ । त्यसैगरी, घाइतेहरूको उपचारका लागि सेफहाउस, देवीघाट आयुर्वेद अस्पताल, महादेव मावि र शुलक्षणा माविमा मेडिकल टोलीहरू निरन्तर खटिएका छन् ।
यता रसुवाका उत्तरगया, आमाछोदिङ्गो र गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतका १० वटा अस्थायी आश्रयस्थलमा १,१८० जना नागरिकले आश्रय लिएका छन् । विकट भौगोलिक क्षेत्रहरूमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ भने रसुवा जिल्ला अस्पताल, वीर अस्पतालको टोली, प्रादेशिक अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्य टोलीहरू उपचारमा सक्रिय छन् । थप क्षति हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कताका साथ उद्धारमा जुटिरहेका छन् ।






