धनगढीः यातायात व्यवस्था कार्यालय धनगढी कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीको संयुक्त टोलीले शुक्रबार गोदावरी नगरपालिका–५ गेटा चेकपोस्टमा सवारी साधनको अनुगमन तथा छड्के चेकजाँच गरेको छ।


यातायात व्यवस्था कार्यालय धनगढी, कैलालीका सूचना अधिकारी सुरेश ओखेडाका अनुसार संयुक्त टोलीले १६८ वटा सवारी साधनको छड्के चेकजाँच गर्दा ३४ वटा सवारी साधनलाई जरिवाना गरिएको छ। नियम उल्लङ्घन गरेका सवारी साधनबाट न्यूनतम १ हजार ५ सय देखि ७ हजार रुपैयाँसम्म जरिवाना असुल गरिएको उनले बताए।
उनका अनुसार अनुगमनका क्रममा ३४ वटा सवारी साधन कारबाहीमा परेका छन्। तीमध्ये १ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर ९ हजार रुपैयाँ जरिवाना असुल गरी फुकुवा गरिएको छ। यसरी जरिवानाबाट कुल ९९ हजार ५ सय रुपैयाँ संकलन भएको छ।
सवारी अनुगमन सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली, २०८० को दफा ७५ मा भएको व्यवस्था अनुसार तथा सोही नियमावलीको दफा ७५ को (२) बमोजिम गरिएको हो।
’हामीले सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन,२०७९ को १८६ को (१) र यातायात व्यवस्था नियमावली, २०८० को नियम ७५ को (१) को अधिनमा रहेर सावरी साधन चेकजाँच गर्दा नियम उल्लङ्घन गरेर चलाइएका ३४ सवारी साधनलाई कारबाही गरिएको हो,’ उनले भने, ’यातायात क्षेत्रको निरीक्षण तथा अनुगमन गर्ने क्रममा विभिन्न कैफियत भएका सवारी साधनलाई जरिवान गरिएको हो।’


यस्तै, सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था ऐन, २०७९ को दफा १८६ को (१) तथा सोही ऐनमा व्यवस्था भएका अन्य दफाहरू अनुसार प्रचलित कानुन बमोजिम कारबाही र जरिवाना असुल गरिएको उनले बताएका छन् ।
प्रदेशको यातायात व्यवस्था नियमावलीको नियम ७५ को (१) मा ’मन्त्रालयले तोकेको कार्यक्षेत्रभित्र सम्बन्धित ट्राफिक प्रहरीको सहभागितामा यातायात व्यवस्था कार्यालयले यातायात सञ्चालन तथा व्यवस्थापनको अनुगमन गर्नेछ’ भन्ने उल्लेख छ।
सूचना अधिकारी ओखेडाले सवारी साधनको प्रयोग उद्देश्य अनुसार भए/नभएको, सवारी दर्ता गरी चलाइएको छ/छैन,विदेशमा दर्ता भएको सवारी अनुमति लिएर सञ्चालन गरिएको छ/छैन, सवारीको रङ, सिट, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गरिएको छ/छैन जस्ता कुरा हेरिएको बताए। उनले नियम विपरीत सञ्चालनमा रहेका सवारी साधनलाई न्यूनतम एक हजार पाँच सयदेखि सात हजार रुपैयाँ जरिवाना असुल गरिएको बताए।
यस्तै, चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छ/छैन,चालक अनुमति पत्र, सवारी दर्ता किताब, जाँचपास, मार्ग इजाजतपत्र आदि नवीकरण गरिएको छ/छैन,भाडाका सवारीसँग मार्ग इजाजतपत्र छ/छैन,तोकिएकोभन्दा बढी भाडा लिएको छ/छैन, यात्रुलाई टिकट दिएको छ/छैन, तोकिएकोभन्दा बढी यात्रु वा सामान बोकेको छ/छैन जस्ता विषयको जाँच गर्दा कैफित गरेको देखिएका सवारीलाई जरिवाना गरिएको हो।
यसअघि गत चैत्र २० गते पनि यातायात व्यवस्था कार्यालय धनगढी र ट्राफिक प्रहरीको संयुक्त टोलीले कैलालीको घोडाघोडी-२ साडेपानीमा १५३ वटा सवारी साधन चेकजाँच गर्दा ३६ वटा सवारी साधन कारबाहीमा परेका थिए।







