राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण केन्द्रीय समिति बैठक आज सोमबारदेखि काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बोलाइएको उक्त बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य गरिएको छ ।


बैठकको सुरुमा पार्टीका पछिल्ला गतिविधिबारे ब्रिफिङ गरिएको छ भने केन्द्रीय सदस्यहरूका लागि रिपोर्टिङको समय छुट्ट्याइएको छ । प्रवक्ता मनिष झाका अनुसार २० जना केन्द्रीय सदस्यलाई जनस्तरका सुझाव र रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइएको छ ।
बैठकमा आगामी महाधिवेशनको कार्यविधि मस्यौदा र पार्टीको विधान संशोधनबारे गहन छलफल हुने कार्यतालिका छ ।


विदेशमा रहेका नेपालीहरूलाई उनीहरू भएकै स्थानबाट मतदान गर्न पाउने अधिकार (Migrant Voting Rights) सुनिश्चित गर्ने विषयलाई रास्वपाले प्रमुख एजेन्डा बनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र त्यसका लागि आवेदन आह्वान गर्ने प्रस्तावमाथि पनि छलफल हुँदैछ ।
बैठकले रिक्त रहेका केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र कार्यविभाजनबारे पनि निर्णय लिने सम्भावना छ ।
यसका साथै सचिवालयले गरेका अघिल्ला निर्णयहरूको अनुमोदन, विषयगत विभागहरूको कार्ययोजना, र संसदीय दलको विधान संशोधन जस्ता प्राविधिक तर महत्वपूर्ण विषयहरूमा पनि छलफल भइरहेको छ । विभिन्न आयोग र निकायबाट प्राप्त पत्राचारका सम्बन्धमा पनि बैठकले आवश्यक निर्देशन दिने प्रवक्ता झाले जानकारी दिनुभयो ।
रास्वपाले सांगठनिक सुदृढीकरण र आगामी चुनावी रणनीतिका लागि यो बैठकलाई निकै महत्वका साथ हेरेको छ । बैठकले पार्टीको आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।







