काठमाण्डाै: सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जीआईएमडब्ल्यूएस) अन्तर्गत नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।

यो सुविधा विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको महानिर्देशक श्रीचन्द्र साहले बताए।

अब सरकारी वेबसाइटहरू माउस प्रयोग नगरिकनै किबोर्डबाटै सञ्चालन गर्न सकिनेछ । ’स्किप नेभिगेसन’ लिङ्कको व्यवस्थाले स्क्रिन रिडर प्रयोगकर्तालाई सीधै मुख्य विषयवस्तुमा पुग्न सहज बनाउनेछ ।

सबै महत्त्वपूर्ण तस्वीर, लोगो र चिह्नहरूमा ’अल्ट टेक्स्ट’ राखिएकाले स्क्रिन रिडर प्रयोगकर्ताले सामग्री सहजै बुझ्न पाउनेछन् । सर्च र सम्पर्क फारामलगायत सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएका छन् ।

फाराम भर्दा आउने त्रुटि सन्देश, सुझाव र पेश गरेपछिका सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने व्यवस्था मिलाइएको छ । यी सुधारहरू सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुने विभागको भनाइ छ ।