दिनेश राना/कैलाली – छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ बुद्धमन्दिर क्षेत्रका ५६ वर्षीय पतिराम चौधरीलाई शुक्रबार राति छिमेकी महेश श्रेष्ठले पतिरामको कुकुरले टोक्दा‘आफ्नो कुकुर मारिएको’ भन्दै घरमै बोलाएर लगेका थिए।

प्रहरीका अनुसार चौधरी श्रेष्ठको घरमै चौधरी बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीको घरतर्फ आउने–जाने कुकुरले आफ्नो कुकुर मारेको आरोप लगाउँदै श्रेष्ठले राति चौधरीलाई घर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले महेश श्रेष्ठ, उनकी आमा सुमित्रा श्रेष्ठ, दाजु दिनेश श्रेष्ठ र भाउजु ज्ञानु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। मृतककी श्रीमती रूपा चौधरीले ‘कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले शुक्रबार नै जाहेरी दर्ता गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक विवरणअनुसार मृतक चौधरी र श्रेष्ठ परिवार छिमेकी हुन् र दुवै घरबीच करिब १०० मिटर दूरी छ। वैशाख २ गते श्रेष्ठको घरमा पालेको कुकुर मरेको थियो।

चौधरीको घरमा पनि एउटा रातो रङको कुकुर आउने–जाने गरे पनि औपचारिक रूपमा पालेको भने थिएन। श्रेष्ठले सोही कुकुरले टोकेर आफ्नो कुकुर मारेको दाबी गर्दै शुक्रबार राति करिब ११ बजे चौधरीलाई उठाएर आफ्नो घर लगेका थिए।

मृतककी श्रीमतीका अनुसार आधा घण्टासम्म श्रीमान् नफर्किएपछि उनी श्रेष्ठको घर पुगेकी थिइन्। त्यहाँ पुग्दा पतिराम सिँढीमुनि लडेको अवस्थामा बेहोस भेटिएका थिए र परिवारले पानी तथा बरफले सेकिरहेको देखिएको थियो।

श्रीमतीले ‘कुकुरले टोकेर मारेको देखाउँछु’ भन्दै लगेपछि हत्या गरिएको आरोप लगाएकी छन्। उनले शरीरमा बाहिरी चोटपटक देखिएको दाबी पनि गरेकी छन्।

तर श्रेष्ठ परिवारले भने कुटपिट नगरेको र सिँढीबाट लड्दा घटना भएको दाबी गर्दै आएको छ।

प्रहरीका अनुसार चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा फेला परेका थिए र अस्पताल पुर्‍याएपछि मृत्यु भएको पुष्टि भएको छ। घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।