धनगढीः राष्ट्रिय स्तरमा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको दोस्रो आर्थिक गणनाको तयारी अन्तर्गत कैलालीमा गणक तथा सुपरिवेक्षक लक्षित तालिम सुरु भएको छ ।

जिल्ला आर्थिक गणना कार्यालय कैलालीको आयोजनामा भएको तालिममा १०६ जना गणक र १४ जना सुपरिवेक्षक गरी कुल १२० जनाको सहभागिता रहेको जिल्ला आर्थिक गणना अधिकारी गोविन्द प्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर आर्थिक तथ्याङ्क सङ्कलन गरिनेछ । अर्थतन्त्रका अवयवहरु अवस्थाबारे जानकारी हासिल गर्न यो आर्थिक गणनाले सघाउने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नृप सुनारले यथार्थपरक तथ्याङ्कले विकास योजनालाई प्रभावकारी बनाउने भएकाले गणकहरूले निष्पक्ष र तथ्यमा आधारित विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिए। उनले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्दै राष्ट्रको वास्तविक आर्थिक चित्र प्रस्तुत गर्न आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले पर्याप्त जानकारीसहित तथ्याङ्क सङ्कलन गर्दा मात्र कैलाली जिल्लाको वास्तविक अवस्था उजागर हुने बताए । उनले गणनालाई सफल बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रम उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशव राज जोशी, कैलाली बहुमुखी क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले तथ्याङ्क सङ्कलनका क्रममा आउने चुनौतीलाई सामना गर्दै यथार्थ विवरण संकलन गर्न निर्देशन दिए। उनले गोपनीयता, निरन्तरता र विश्वसनीयतालाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

आयोजकका अनुसार यो तालिमले गणक र सुपरिवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।