कञ्चनपुर कारागारमा कैदीबन्दीबीच कुटाकुट भएपछि १५ जनाको स्थानान्तरण गरिएको छ । बुधबारको कुटाकुटमा परेर घाइते भएका तीन जनासहित १५ जनालाई नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको हो ।
बुधबार आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । यसअघि चैतकै दोस्रो साता र पुसमा समेत कैदीबन्दीबीच झडप भएको थियो । चैत दोस्रो साता कुटपिटबाट घाइते भएका कैदीबन्दीले कारागारभित्र लागुऔषको कारोबार हुँदै आएको आरोप लगाएका थिए ।
यस्तै, पुसमा कारागारभित्र बाहिरबाट मदिरा तथा लागूऔषध भित्र्याउने र महंगोमा कारोबार गरेको विषयमा कारागार चौकीदार र नाइकेबीच विवाद भएको थियो ।
त्यसबेला नौ जना कैदीबन्दीको सरुवा गरिएको थियो । कारागार प्रशासनका अनुसार आठ जनाको नौबस्ता र एक जनाको काठमाडौं सरुवा गरिएको थियो ।
झडप हुनुका विभिन्न कारणमध्ये बन्दीगृह चौकीदार विहीन हुनु पनि हो । कारागार प्रशासनले चालु आर्थिक वर्षका लागि चौकीदार नियुक्त गरेका कर्तव्य ज्यान मुुद्दाका प्रकाशबहादुुर मल्लको दाङ सरुवा गरेपछि अर्को व्यक्ति नियुुक्त गरिएको छैन ।







