दिनेश राना/कैलाली – दाइजो कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमको सार्वजनिक सुनुवाई आज धनगढी उपमहानगरपालिका वडा नं. ७, देवरियामा सम्पन्न भएको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को उप-आयोजना स्टार्टअप अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई संस्थाका तरकारी खेती उत्पादन उप-आयोजक समिति संयोजक अध्यक्ष कलापति रानाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा धनगढी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष मोति राना थारु, अतिथि रिड डडेल्धुराका कृषि अधिकृत डा. सुशन ढकाल र कृषि वित्त विज्ञ कुन्दन प्र पाण्डेयले अतिथिको रुपमा कार्यक्रममा सहभागिता जनाउँदै आफ्ना महत्वपूर्ण विचार तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा तरकारी खेती उत्पादन तथा बजारीकरणसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । कृषकहरू तथा सरोकारवालाहरूले कार्यक्रमको प्रभावकारिता, चुनौती र आगामी योजनाका बारेमा आफ्ना जिज्ञासा तथा सुझावहरू राखेका थिए ।
कार्यक्रमका अध्यक्ष कलापति रानाले सबैको सहभागिता र सुझावका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन संस्थाले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि मोति राना थारूले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन दाइजो कृषि सहकारी संस्था लिमिटेडका सचिव दीपक राज जोशीले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष मन बहादुर राना पनि कार्यक्रममा उपस्थित रहेको थियो । दाइजो कृषि सहकारी संस्था लिमिटेडले यस कार्यक्रममार्फत स्थानीय कृषकहरूलाई तरकारी खेती उत्पादनमा प्रोत्साहन गर्नुका साथै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुर्याउने लक्ष्य राखेको छ ।