कञ्चनपुरको महाकाली सुगर मिलबाट कलकत्तासम्मै उखुका ट्रली, व्यापारीलाई मर्का

२५ मंसिर २०८०, सोमबार
कञ्चनपुरको महाकाली सुगर मिलबाट कलकत्तासम्मै उखुका ट्रली, व्यापारीलाई मर्का

नरेश राना/कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्रमा सञ्चालित सुगर मिलमा उखु ट्रलीहरुको चाप अत्यधिक हुँदा सडकमा जाम लाग्न थालेको छ । बेलौरी नगरपालिका–१० शिवनगरस्थित महाकाली सुगर मिल र पुनर्वास नगरपालिका–२ स्थित भागेश्वर सुगर मिल सञ्चालनमा आएपछि मिलसम्म सडकमा उखुका ट्रलीहरुको लाइन लाग्दा दुर्घटनाको जोखिम समेत बढेको हो ।

शिवनगरस्थित महाकाली सुगरमिल सञ्चालनमा आएपछि करिब २ किलोमिटरभन्दा बढी सडकमा उखु लोड गरिएका ट्रली जाममा पर्ने गरेका छन् । सडकमा उखु ट्रलिको लाइन लाग्दा दुर्घटनाको जोखिमसँगै व्यापार व्यवसायमा समेत असर परिरहेको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।

बेलौरी–१० मा रहेको मिलमा उखु ल्याउने किसानहरुको लाइन बेलौरी–८ कलकत्ता बजारसम्म देख्न सकिन्छ । मिलभन्दा करिब २ किलोमिटर वर कलकत्ता बजारसम्म उखु ट्रलीको लाइनले बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढाउनुका साथै आफूहरुको व्यापार व्यवसायमा नराम्रो असर परिरहेको कलकत्ता बजारका व्यापारीहरुले दुखेसो पोखेका छन् ।

कलकत्ता बजारमा होटेल व्यवसाय गरिरहेका पृथ्वी बुढाले सामाजिक सञ्जालमार्फत दुखेसो पोस्ट गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन खोजेका छन् । ‘महाकाली सुगर मिलका किसान तथा किसान समितिका पदाधिकारीहरुलाई विनम्र अनुरोध गर्छु, उखु किसानहरुले आफ्नो ट्याक्टरलाई बाटोमा पार्किङ गर्दा होटेल अगाडि मोटरसाइकल पार्किङ हुदैन,’ बुढाले फेसबुकमा लेखेका छन्, ‘भोलीको दिनमा सवारी दुर्घटना हुने ठुलो जोखिम छ, बाइक पार्किङ गर्ने ठाउँ नभएर व्यापार पनि घटेको छ । कृपया हाम्रो मर्का पनि बुझिदिनुहोला ।’

उखु मिलले उखु पुर्जी सही तवरले वितरण नगर्दा यस्तो समस्या आएको उखु किसान समितिको ठम्याइ छ । मिलमा उखु पुर्जीको वितरण सही ढङ्गले नभइरहेकोले सडकमा उखु किसानहरुले लामो लाइन लाग्नु परेको उखु किसान समितिका अध्यक्ष हरि चन्द ठकुरीले बताए । ‘उखु ट्रलीको लामो लाइन छ, पर्ची नलिई उखु काटिएकाले समस्या आएको हो,’अध्यक्ष चन्दले भने, ‘ठुला किसान, व्यापारीहरुलाई पहुँचका आधारमा पर्ची दिइन्छ, सानाकिसानलाई दिइदैन ।’

किसानहरुले पर्ची नपाएसम्म उखु नकाट्न मिल र समितिले अनुरोध गर्दा समेत किसानहरु पर्ची नलिई उखु काटिरहेकाले दुई दिनसम्म सुगर मिलबाट पर्ची नकाटिने अध्यक्ष चन्दले बताए । ‘किसान हतारमा छन्, मिलसँग सिमित पर्ची हुन्छ,’ अध्यक्ष चन्दले भने, ‘पर्ची नलिई पहुँचका आधारमा उखु ल्याउनेहरुको पहिचानका लागि पनि दुई दिन पर्ची नकाट्न मिललाई अनुरोध गरेका छौ ।’

उखु मिलमा किसानले उखु ल्याउन मिलबाट पर्ची लिनुपर्ने हुन्छ । पर्चिका आधारमा उखु तौल गरिन्छ । भारतबाट उखु आउँदा समेत सडकमा ठूलो जाम परेको स्थानीय कृषकहरु बताउँछन् । लुकिछिपी सीमा क्षेत्रबाट समेत उखु मिलमा भित्रिँदा सडकमा उखुको चाप अत्यधिक बढेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio