नरेश राना/कञ्चनपुर: गत महिना अर्थात् कात्तिकको १९ गते साँझ पख । कैलालीको धनगढी नगरपालिका–१३ कैलारी गाउँका धोके रानालाई उनका साढुदाईको फोन आउँछ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बलमीका २५ वर्षीय राजकुमार रानाले अत्तालिँदै आफ्ना साढुभाई धोकेलाई भने – साढु मलाई ब्यूरो वालाले लखेटिरहेका छन्, म भाग्दै छु, विचवा पुगेर फोन गर्छु, मलाई लिन मान्छे पठाइदिनु ।
१ मिनेटभन्दा कममैं राजकुमारको फोन काटियो । केही साता पहिले मात्रै सडक दुर्घटनामा परेर खुट्टा चलाउन नसक्ने अवस्थामा रहेका धोके राजकुमारको फोन कुरेर बसे तर फेरि राजकुमारले फोन गरेनन् ।
भोलिपल्ट बिहान राजकुमारकै फोनबाट उनकी धर्मपत्नि सुशीलालाई ३ पटक फोन गयो । सुशीलाले फोन उठाउँदा अर्कोतर्फबाट कोही बोल्दैन थियो, मोबाइलमा टाइप गरेजस्तो आवाज मात्रै आउँथ्यो ।
राजकुमारको फोनबाट उनका भान्जा कमल रानालाई पनि १ पटक फोन गएको थियो तर कमलसँग पनि कुराकानी नभएको सुशीला बताउँछिन् ।
त्यसपछि राजकुमारको मोबाइल सधैंका लागि अफ भयो ।
र, त्यसको १ सातापछि २८ गते कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जंगलमा सडेगलेको अवस्थामा राजकुमारको शव भेटियो ।
शव भेटिएपछि परिवारजनमा सुरु भयो राजकुमारको मृत्यु हत्या, आत्महत्या वा दुर्घटना के हो भन्ने चासो ।
त्यसैबीच ९७६६३९३००१ बाट राजकुमारका सहोदर दाई मदन रानालाई फोन आयो । आफूलाई चेत भण्डारी बताउने व्यक्तिले फोन गरेका थिए ।
भण्डारी र मदनबीच रानाथारु भाषामा भएको सम्वादको अडियो क्लिप मानसखण्डलाई प्राप्त भएको छ । उक्त सम्वादका अनुसार राजकुमारलाई ‘सीआइडी’ले लखेट्दै गरेको आफूले देखेको भण्डारीले मदनसँगको कुराकानीमा बताएका छन् ।
भण्डारीले अडियोमा राजकुमार मोटरसाइकल छोडेर जंगलमा पसेको बताएका छन् । ‘मोटरसाइकल सीआइडीले लगेको हुनुपर्छ’ भण्डारीले मदनसँग भनेका छन् ।
के गर्दैछ प्रहरी ?
घटनास्थलबाट सबै मुचुल्का तयार पारेर फर्केको इलाका प्रहरी कार्यालय झलारी भने अहिलेसम्म हत्या, दुर्घटना वा आत्महत्या के हो भन्ने निष्कर्षमा पुगेको छैन ।
सो इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐर अनुसन्धान जारी रहेको बताउँछन् । उनले अनुसन्धानका क्रममा राजकुमार स्वयं आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको बताए ।
राजकुमार लागुऔषध र ठगीको मुद्दामा बेलौरी, सुनसरी, काठमाडौं र झलारी प्रहरीको खोजी सूचिमा रहेका फरार व्यक्ति भएको अनुसनधानबाट खुलेको इन्स्पेक्टर बुढाऐरको भनाई छ ।
रहस्यमयी बन्दैछ घटना !
प्रहरीले अनुसन्धान जारी राखेकै बेला राजकुमारको मृत्यु रहस्यमयी बन्दै गइरहेको छ ।
राजकुमारको शव फेला परेकै दिनदेखि उनको घर रहेको टोलमा नम्बर प्लेट नभएको मोटरसाइकलमा चेत भण्डारी अन्य ३ जना अपरिचितका साथ दिन बिराएर आउने गरेको सुशीलाले बताइन् ।
‘उनीहरु जेठाजु (मदन)लाई भेट्न आइरहन्छन्’ सुशीलाले भनिन्, ‘जेठाजुसँग कुरा गर्न खोज्छन् तर मान्छे धेरै भएमा नबोली जान्छन् ।’
घटनालाई रहस्यमयी बनाउने अर्को पाटो हो राजकुमारको फेसबुक म्यासेन्जर । शुशीलाका अनुसार शव पाइएको २ सातपछि २८ अक्टोबर (११ कात्तिक)सम्म राजकुमारले चलाउने Yourfutuae नामक आइडी चलिरहेको थियो ।
‘११ गते मैले म्यासेन्जरमा भ्वाइस कल गर्न खोजेकी थिएँ’ सुशीलाले भनिन्, ‘तर उताबाट फोन उठेन र त्यसपछि अफलाइन छ ।’
राजकुमारका परिवारजन उनको हत्या भएको निष्कर्षमा पुगेका छन् । उनीहरुले घटनाको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता गराउने प्रक्रिया पनि थालिसकेका छन् ।