धनगढीमा प्लास्टिकबाट बनेका फूलमाला बिक्री वितरण तथा प्रयोग गर्न नपाइने

१६ कार्तिक २०८०, बिहीबार
धनगढीमा प्लास्टिकबाट बनेका फूलमाला बिक्री वितरण तथा प्रयोग गर्न नपाइने

कैलाली: धनगढी उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका फूलका मालाको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । वातावरणीय प्रदूषण घटाउनुका साथै स्थानीयस्तरमै किसानहरूलाई फूलखेतीमा प्रोत्साहन गर्ने उद्धेश्यले प्लास्टिकका फूलमाला प्रयोगमा रोक लगाइएको उपमहानगरले जनाएको छ । 
स्टेज सजाउने, ध्वजापताका लगाउने, बुके बनाउने, खादाका रूपमा यसअघि प्रयोग हुँदै प्लास्टिकको सट्टा फूलको माला प्रयोग गर्ने चलनको विकास गर्न उपमहानगरले नगरवासीहरूमा अनुरोध गरेको छ । ‘भारतबाट आउने प्लास्टिकका फूल र माला आयात रोक्न प्रमुख जिल्ला अधिकारी, भन्सार, सुरक्षा निकायलाई अनुरोध गरिसकेका छौं,’ नगरप्रमुख गोपाल हमालले भने ‘यही फूलको उत्पादन हुन थालिसक्यो । सुरुमा केही महँगो परे पनि फूलखेतीमा आकर्षण बढिसकेको छ । यसले वातावरणमा पनि सकारात्मक प्रभाव पार्नेछ ।’
उपमहानगरले स्थानीय स्तरमै फूलखेती प्रवर्द्धन गर्न उत्पादन तथा सजावटका तालिमहरु प्रदान गरेको जनाएको छ । अहिले धनगढी र कैलारी गाउँपालिकामा किसानहरूले फूलखेती गरिरहेका छन् । स्थानीय उत्पादनले नै माग धान्ने नगरप्रमुख हमालको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाले यसअघि २०७९ असोज १ गतेदेखि धनगढी उपहानगरपालिका क्षेत्रभित्र प्लास्टिकका झोलाको प्रयोगमा निषेध गरिसकेको छ । उपमहानगरले मंगलबार एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला प्रयोग भएको पाइएमा प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन २०७९ अनुसार कारबाही हुने उल्लेख गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio