कृष्णपुर नगरपालिका द्वारा ५०% अनुदानमा पावर टिलर र मिनी टिलर वितरण

३ कार्तिक २०८०, शुक्रबार
कृष्णपुर नगरपालिका द्वारा ५०% अनुदानमा पावर टिलर र मिनी टिलर वितरण

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझाले किसानहरूलाई ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरेका हुन ।


उक्त पावर टिलर र मिनी पावर टिलर गत आर्थिक बर्षको कार्यक्रम अन्तरगत वितरण गरिएको कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए । उनले गत आर्थिक बर्षको कार्यक्रममा ६९ वटा पावर टिलर र ४६ वटा मिनी पावर टिलर वितरण गर्ने कार्यक्रम अन्तरगत शुक्रबार ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिएको बताए । जसमा ५० प्रतिशत नगरपालिकाको र ५० प्रतिशत किसानको लगानी रहेको छ ।


बाँकी पावर टिलर र मिनी पावर टिलर सामुदायिक वन सँगको साझेदारीमा वितरण गरिएको कृषि शाखा प्रमुख धामीले बताए । ‘सामुदायिक वन संगको साझेदारीमा १८ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिसकिएको छ’ उनले भने ‘जसमा सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लगानी साझेदारी रहेको थियो ।’
उनले पावर टिलर १ लाख ७४ हजार ५ सय र मिनी पावर टिलर ५३ हजार ५ सयमा नगरपालिकालाई ठेकेदारले उपलब्ध गराएको बताए । उनले पावर टिलर र मिनी पावर टिलर कृषि सहकारी, किसान समुह र सहकारीलाई मात्रै वितरण गरिएको बताए । उनले वितरण गरिएका पावर टिलरबाट पानी तान्ने, ढुवानी गर्ने, जोत्ने, धान काट्ने गहुँ काट्ने काम गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख हेमराज ओझाले गत बर्ष नै पावर टिलर र मिनी पावर टिलर वितरण गर्ने योजना भएपनि ठेकेदारले गत आर्थिक वर्षको असार मसान्त सम्म कृषि औजार उपलब्ध गराउन नसकेपछि वितरणमा ढिलाई भएको बताए । उनले आफूहरु जनप्रतिनिधिमा निर्वाचित भएपछि ठूलो संख्यामा पहिलो पटक किसानहरूलाई कृषि औजार वितरण गरिएको बताए ।
उनले वितरण गरिएका पावर टिलर र मिनी पावर टिलरको सही सदुपयोग गर्न किसानहरुलाई आग्रह गरे । ‘यी पावर टिलर र मिनी पावर टिलरको सही सदुपयोग हुने अपेक्षा गरेका छौ’ उनले भने ‘हामीले कृषिमा व्यापक सुधार गर्न खोजेका छौ । जसका लागि कृषिमा आवद्ध विपन्न वर्गलाई यस्ता कार्यक्रममा समेट्ने प्रयास गरेका छौ ।’
उनले गरिखाने किसानले सेवा पाउनु पर्छ भन्ने ध्येयका साथ कृषि औजार किसानलाई वितरण गरिएको बताए । ‘नगरमा अहिले पनि थारु समुदायका मानिसहरु सबैभन्दा बढी कृषिमा आवद्ध हुनुहुन्छ र तर, वहाँहरू राज्यबाट पाउने सुविधामा पछाडि हुनुहुन्छ । त्यसैले हामीले यस्ता समुदायलाई समेटेर पावर टिलर र मिनी पावर टिलर वितरण गरेका छौ’ उनले भने ‘यसमा दलित, मुक्त हलिया, थारू समुदाय, पछाडि परेको समुदायलाई प्राथमिकता दिएका छौ । हाम्रो ध्येय भनेको गरिखाने कृषकले नगरको सुविधा पाउनु पर्छ भन्ने हो ।’ उनले वितरण गरिएका पावर टिलर र मिनी पावर टिलरको ५ वर्ष सम्म सही सदुपयोग भएको सुनिश्चितता गराउन अनुगमन गरिने बताए ।

वडा नम्बर ३ मा रहेको लालीगुँरास महिला कृषि समुहकी सचिव पशुपति चौधरीले पावर टिलर पाउँदा आफूहरू निकै खुसी भएको बताइन् । उनले समुहमा १ वटा मात्रै पावर टिलर पर्याप्त नभएपनि यसको सही सदुपयोग गर्ने प्रतिवद्धता गरिन । उनले आगामी दिनमा पनि नगरपालिकाबाट सहयोग पाउने अपेक्षा गरिन ।
वडा नम्बर २ हलिया मुक्ति शिविरका शिव नेपालीले यसअघि पनि किसानहरूलाई कृषि औजार वितरण भएको सुन्ने गरेपनि पहिलो पटक आफूले सहयोग पाएको बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio