नरेश राना/कञ्चनपुर: सुदूरपश्चिमाञ्चल पोलिटेक्निकल इन्स्टिच्युट प्रा.लि. धनगढी कैलालीको आयोजनामा उद्यम विकास सहजकर्ताहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । यही असोज १२ गतेदेखि २१ गते (१० दिन) सम्म सञ्चालन गरिएको आफ्नो व्यवसाय सुरु तथा सुधार प्रशिक्षक प्रशिक्षण तालिमको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ । इन्स्टिच्युटका प्रबन्ध निर्देशक सुजित राज शर्माको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्री रमेश धामीको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको बताइएको छ ।
तालिम कार्यक्रममा विभिन्न जिल्लाबाट गरी कुल ३० जना उद्यम विकास सहजकर्ताहरूको सहभागिता रहेको थियो । उक्त तालिममा सहजीकरणका लागि प्रमुख प्रशिक्षकको रूपमा भीम बहादुर बिष्ट र सहायक प्रशिक्षकको रूपमा नरेश प्रसाद भट्ट संलग्न रहनु भएको थियो । तालिम समापनका अवसरमा स्वागत मन्तव्य सहभागी बिन्दु चन्दले राख्नु भएको थियो भने सहभागीहरूका तर्फबाट तालिममा भएको सिकाई तथा उपलब्धिका साथै भविष्यमा यसको प्रयोगका बारेमा सहभागी सन्तोष डडालले मन्तव्य राख्नु भएको थियो ।
तालिमका प्रमुख प्रशिक्षक भीम बहादुर बिष्टले तालिमको आवश्यकता र महत्वका साथै उद्यम विकास सहजकर्ताहरूको क्षेत्र, हालको वर्तमान अवस्था तथा भविष्यमा यस्तो प्रकारको जनशक्तिले देशमा आर्थिक समृद्धिका लागि खेल्न सक्ने भूमिकाको विषयमा प्रष्ट पार्नु भएको थियो । उक्त अवसरमा तालिमका सहायक प्रशिक्षक तथा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नरेश प्रसाद भट्टले उक्त अवसरमा उद्यम विकास सहकर्ताहरूको वर्तमान अवस्था, भविष्यमा प्रदेश सरकारका तर्फबाट चालिनु पर्ने कदमहरूलाई समेटी सुदूरपश्चिम प्रदेश सरकार उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्री रमेश धामीलाई ६ बुँदे ज्ञापन पत्र समेत हस्तान्तरण गर्नु भएको थियो ।
सम्पूर्ण तालिम प्राप्त सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्दै मन्त्री धामीले उद्यम विकास सहजकर्ताहरूको भविष्यका बारेमा आफू चिन्तित रहेको र मन्त्रालय उद्यम विकास सहजकर्ताहरूसित सहकार्य गरेर अगाडी बढ्ने कुरा अवगत गराउनुका साथै प्रदेशले निर्माण गरेका ऐन नियम तथा कानुनहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागि पहल गरिरहेको बताउँदै उद्यम विकास सहजकर्ता संघको सुझाव सहित अन्य आवश्यक पर्ने कानुनहरू निर्माणका लागि पहल गर्ने कुरा समेत अवगत गराउनु भयो ।