कृष्णपुरमा जङ्गली हात्तीले तीन घर भत्कायो, तत्कालका लागि त्रिपाल र खाद्यान्न सहयोग

१८ आश्विन २०८०, बिहीबार
कृष्णपुरमा जङ्गली हात्तीले तीन घर भत्कायो,  तत्कालका लागि त्रिपाल र खाद्यान्न सहयोग

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ स्थित चपरतला टोलमा जङ्गली हात्तीले तीन घर भत्काएको छ । गएराती जङ्गली हात्तीको एक बथान उक्त टोलमा पसेर घर भत्काउनुका साथै अन्नबालीमा समेत क्षति पुर्‍याएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार चपरतला गाउँ बस्ने गोपाल चौधरी, स्यानु चौधरी र जयराज चौधरीको घर हात्तीले भत्काएको हो । हात्तीको बथानले घर भत्काउँदा घरभित्र रहेका व्यक्तिहरूले भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ । हात्तीको बथानले सोही झण्डै चार बिघाको धानबाली समेत नष्ट गरेको छ । पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसानहरू मर्कामा परेका छन् ।

यसैबिच, आज प्रदेश सभा सदस्य ओमविक्रम भाट, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, नगर उपप्रमुख द्रोपती राना र वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिंह सहितको टोलीले उक्त क्षेत्रमा हात्तीले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गरेको छ । नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा वन क्षेत्र बढी भएको कारण बर्सेनि हात्तीले दुःख दिइरहेको भन्दै स्थायी समाधानको लागि  सम्बन्धित निकायसँग छलफल गरिरहेको बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई समेत खबर गरी आवश्यक क्षतिपूर्तिको लागि पनि आग्रह गरिएको उहाँले बताउनु भयो । पीडित परिवारलाई तत्कालको लागि एक एक थान त्रिपाल र खाद्यान्न सहयोग गरिएको छ । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio