खेतमा धान पाक्यो ? केही दिन पर्खिनुस्, मौसम प्रतिकूल छ ।

१५ आश्विन २०८०, सोमबार
खेतमा धान पाक्यो ? केही दिन पर्खिनुस्, मौसम प्रतिकूल छ ।

नरेश राना/कञ्चनपुर: जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनु भयो । उहाँले अझै मनसुन बाहिरिन झन्डै एक हप्ता लाग्न सक्ने अनुमान रहेको बताउनु भयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र समेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्र्याइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, मौसम खुलेपछि मात्रै काटौँ”, उहाँले भन्नुभयो । नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना समेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर नै मौसम खराब छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उहाँले बताउनुभयो । 

जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यो वर्ष पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ । यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो । शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपालि मनसुनको सुरुवाती समयमै पूर्वी नेपालमा भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio