शुक्रराज राना/बेलौरी: नेपालका स्टार ब्याट्सम्यान दीपेन्द्र सिंहले विश्वका कुनै पनि ब्याट्सम्यानले सोच्न नसक्ने काम गरेका छन् । यी ब्याट्सम्यानले मंगोलियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले भारतका युवराज सिंहको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे । यति मात्र होइन, सोही खेलमा उनका साथी कुशल मल्लले ३४ बलमा शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् भने टोलीले २० ओभरमा ३१४ रन बनाएको छ । यी तीनवटै विश्व कीर्तिमान हुन् ।
खेलमा टस जितेर मंगोलियाले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । उनको पक्षमा एउटा टस मात्रै भयो । त्यसपछि कुशल भुर्तालले २३ बलमा १९ रन बनाए भने आसिफ शेखले १७ बलमा १६ रन बनाए । त्यसपछि मैदानमा यस्ताे हावाहुरी आयो की सबै जना हेरेकाे हेरै भए । कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै अविजित १३७ रन बनाए भने अर्कोतर्फ रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मद्दतले ६१ रन बनाए ।
दीपेन्द्र सिंहले अन्तिम बाँकी काम पूरा गरे। यी ब्याट्सम्यानले १.२ ओभर अर्थात ८ बलमा आफ्नो अर्धशतक पूरा गरे । छक्काकाे मात्रै बरसात गरिरहे । यदि बल बाई बल भन्ने हो भने ६, ६, ६, ६, ६, ६, २, ६, ६ उनले युवराज सिंहको १२ बलमा अर्धशतकको ९ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान तोडेका थिए । युवीले विश्वकपमा इंग्ल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । त्यसबेला देखि यो संख्या अटूट मानिन्थ्याे। सोही खेलमा युवराजले स्टुअर्ट ब्रोडलाई एउटै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।
दीपेन्द्रले आफ्नो इनिङ्समा १० बलको सामना गर्दै ८ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाए । यी तीन ब्याट्सम्यानको बलमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनायो जुन यस ढाँचामा विश्व कीर्तिमान हो ।






