धनगढी । पश्चिम नेपालको थारु बाहुल्य क्षेत्रमा बाल पर्वको रुपमा चिनिने गुरही पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । नाग पञ्चमीका दिन पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै काठमाडौँमा समेत भव्यताका साथ गुरही पर्व मनाइएको हो ।
यसैबीच कैलालीको धनगढी उपमहानगरपपालिका वडा नं. ८ स्थित गुरही चोकमा बृहत गुरही कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले गुरहीको प्रतिमा शिलान्यास गरेका छन् । मन्त्री धामीले सो गुरहीको प्रतिमा निर्माणको जिम्मा प्रदेश सरकारले लिने घोषणा गरे ।
थारु कल्याण कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारुले गुरही प्रतिमाको लागत इस्टिमेट ७ लाख रुपैयाँ रहेको बताए ।गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ । कैलाली अनलाइनबाट सभागर